भादगाउँ- सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा शनिबार सुरु भएकाे छ।
यो जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ। जात्रा आज साँझ टौमढीस्थित ङातापोल (पाँचतले मन्दिर) अगाडिबाट भैल खः (भैरवनाथको रथ) तानातान गर्दै सुरु गरिन्छ।
काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले रथमा रथभित्र भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्रांगणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलतर्फ तानातान गर्न थालेपछि जात्रा सुरु हुन्छ।
यस वर्ष दिउँसो २ बजे भैल खः तान्ने कार्यक्रम छ। भक्तपुर नगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरेर सो कार्ययोजना तय गरेको हो।
भैल खः तान्न १ देखि १ः३० बजे भद्रकालीको रथलाई घट्खामा पठाई भद्रकालीलाई रथमा बिराजमान गर्ने गरिनेछ।
भद्रकालीको रथमा पूजा सम्पन्न गर्ने, १ः३० बजेदेखि २ बजेसम्म भद्रकालीको रथलाई टौमढीको पुबहालको अगाडि ल्याई २ बजेदेखि भैरवनाथको रथ तान्न सुरु गर्ने गरी ५ः३० बजेसम्म भैरवनाथको रथ गःहिटीमा पुर्याई जात्रा सम्पन्न गर्ने तयारी गरिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए।
जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो। यसरी तानातान गर्ने क्रममा थनेतर्फ पहिला तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढीहुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पुर्याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुन्छ।
यस वर्ष भैल खः टौमढीबाट पूर्वमा बढीमा बुलुबुलु हिटी (सुकुलढोका) र पश्चिममा बढीमा नासमनासम्म मात्र लान अनुरोध गरिएको छ।
रथमा जुुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिहरू बाहेक अन्य व्यक्तिहरू अनधिकृत रुपमा नचढ्नसमेत अनुरोध गरिएको छ। रासस