काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले गृहमन्त्री रामबहादुर थापाले दल त्याग गरेको सूचना संसद् सचिवालयमा दर्ता गराएको छ। पार्टीको विधान विपरीत केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एमाले)का गतिविधिमा संलग्न भएको भन्दै थापाले दल त्याग गरेको सूचना संसद् सचिवालयमा दर्ता गराएको हो।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले विधान बमोजिम चैत २४ गते उनले दल त्याग गरेको निर्णय गरेका थिए।
यसअघि थापालाई स्पष्टीकरण समेत सोधिएको थियो। तर गृहमन्त्री थापाले स्पष्टीकरण दिएका थिएनन्।
'तोकिएको समयभित्र स्पष्टीकरण निदिएको हुँदा राष्ट्रिय सभा सदस्य रामबहादुर थापाले दल त्याग गरेको निर्णय भएको' भएको माओवादी केन्द्रले संसद् सचिवालयमा दर्ता गराएको सूचनामा उल्लेख छ।
यसअघि चार जना मन्त्रीको पनि सांसद पद खोसिएको थियो।
माओवादी केन्द्रबाट निर्वाचित भएका सांसदहरु प्रभु साह, लेखराज भट्ट, गौरीशंकर चौधरी र टोपबहादुर रायमाझीको सांसद पद खोसिएको हो।
एमालेमा प्रवेश गरेका उनीहरूले मन्त्री पदका लागि पुनः शपथग्रहण गरेका छन्। उनीहरूले अब बढीमा ६ महिनासम्म मन्त्री बन्न पाउनेछन्। ६ महिनासम्म पनि सांसद् नरहे उनीहरूको मन्त्री पद पनि गुम्नेछ। गृहमन्त्री बादलले पनि अब यही प्रक्रियाबाट मात्र मन्त्री कायम रहन सक्नेछन्।
