काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो दलको समर्थन सरकारलाई नरहेको बताएका छन्।
देउवा निवास बालुवाटारमा भएको नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र जसपाको संयुक्त बैठकमा बैठकमा सहभागी भएर बाहिरिने क्रममा प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन्।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने तर ओली सरकारको विकल्प खोज्ने भनिरहेको सन्दर्भमा उनले राजनीतिक रूपमा यो विषयमा अलमलमा नपर्न समेत आग्रह गरे।
'सरकारलाई हाम्रो समर्थन छैन। राजनीतिक अन्यौलको अवस्था कायम नरहोस्,' उनले भने, 'बहुमतको सरकार सुनिश्चित भएपछि हामी त्यो जानकारी गराउँछौं। बहुमतको सरकार नबन्ने भयो भने सरकारलाई दिएको समर्थन फिर्ता लिनेछौं।'
सरकारले विश्वासको मत लिनुपर्ने उनको तर्क छ। 'फागुन २३ गते पछि सर्वोच्चले पार्टी विभाजन गरिदियो। पार्टी विभाजन भएको एक महिनाभित्र सरकारले विश्वासको मत लिनुपर्छ भन्ने हाम्रो तर्क हो। हामीले समर्थन नरहेको जानकारी दिन्छौं,' प्रवक्ता श्रेष्ठले भने।
तीन दलको बैठकमा सभापति देउवाले आफ्नो दलको नेतृत्वमा सरकार बनाउन गरेको प्रस्तावलाई माओवादी केन्द्रले स्वागत गरेको छ। माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई हटाएर संविधानको रक्षा गर्नुपर्ने धारणा बैठकमा राखेको थियो।
'सरकार निरंकुश बाटोमा अघि बढेको छ। यसलाई हटाएर संविधानलाई रक्षा गर्ने चाहने शक्तिहरूको सरकार बनाऔँ भनेका छौं,' बैठकपछि प्रवक्ता श्रेष्ठले भने, 'कांग्रेसको प्रस्तावको स्वागत गर्छौं। हामी यो छिटो निर्णय होस् भन्ने चाहन्छौं। कांग्रेसको नेतृत्वमा सरकार बनाउन हामी सकारात्मक छौं।'