काठमाडौं- नेपाली कांग्रेसले प्रतिपक्षी दलहरुसँग मिलेर सरकार बनाउन प्रस्ताव गरेको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित तीन दलीय बैठकमा कांग्रेस सभापति देउवाले माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुसँग ओलीलाई सरकारबाट हटाएर तीन दलको सरकार बनाउन प्रस्ताव गरेका हुन्।
देउवाको प्रस्तावको माओवादीले स्वागत गरेको छ। माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा देउवाले मिलेर सरकार बनाउन प्रस्ताव राखेको र आफूहरुले प्रस्तावको स्वागत गरेको जानकारी दिए।
‘कांग्रेसका सभापति देउवाले पार्टीको निर्णयअनुसार कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रस्ताव गर्नुभयो। छलफल गरौं, तपाईको धारणा के छ भनेर प्रस्ताव राख्नुभयो। हामीले उहाँको प्रस्तावलाई स्वागत गर्यौँ,’ उनले थपे, ‘सामान्यतया सरकार जुन भए पनि चुनाव गराउने भए केही फरक पर्दैन तर ओली सर्वसत्तावादी भए। सत्ता कब्जा गर्न खोज्दैछन्। यसरी सर्वसत्तावादीको हातबाट लोकतान्त्रिक चुनाव हुँदैन। त्यसैले नयाँ सरकार बनाउनुपर्छ। तपाईहरुको धारणा बुझ्न चाहन्छु भन्नुभयो।’
नेता नारायणकाजी श्रेष्ठका अनुसार कांग्रेसले पहिलो पटक राखेको यो प्रस्तावमा जसपाले पनि विचार गरेर जवाफ दिने बताएको छ। जसपाका नेताहरुले बैठकमा सरकारले आफ्ना नेताहरुलाई लगाइएको मुद्दा फिर्ता लिने आश्वासन सरकारले दिएको बताएका थिए।
श्रेष्ठले भने, उहाँहरुले आफ्ना मुद्दा फिर्ता लिने, बन्दी फिर्ता लिने कुरा राख्नुभएको छ।’
नेता श्रेष्ठले कांग्रेसले यो निर्णय अझै छिटो गरोस् भन्ने आफूहरुको चाहना रहेको तर कांग्रेसको निर्णय ढिला आएको बताए।
उनले आफूहरुको समर्थन सरकारलाई नभएको पनि बताए। ‘हाम्रो समर्थन सरकारलाई छैन, पार्टी विभाजन भएको एक महिनाभित्र सरकारले विश्वासको मत लिनुपर्छ भन्ने हाम्रो तर्क हो। हामीले समर्थन नरहेको जानकारी दिन्छौं।’ माओवादी प्रवक्ता श्रेष्ठले भने।
‘राजनीतिक अन्योलको अवस्था कायम नरहोस्। बहुमतको सरकार सुनिश्चित भएपछि हामी त्यो जानकारी गराउछौँ। बहुमतको सरकार नबन्ने भयो भने सरकारलाई दिएको समर्थन फिर्ता लिनेछौं।’
बैठकपछि जसपा अध्यक्ष महन्थ ठाकुरले कांग्रेसले मिलेर सरकार बनाउने प्रस्ताव गरेको भन्दै आफूहरुले यसबारे पार्टीमा थप छलफल गरेर जवाफ फर्काउने बताए।
बैठकपछि कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले सभापति देउवाले राखेको प्रस्तावको माओवादीले स्वागत गरेको बताए। ‘सभापतिले पहिलो पटक माओवादी र जसपासँग मिलेर सरकार बनाऔँ भनेर प्रस्ताव गर्नुभएको हो, माओवादीले प्रस्तावको स्वागत गरेको छ,’ उनले थपे, ‘ओलीको बिदाइ नै अहिलेको प्राथमिकता हो भनेर माओवादीले भनेको छ।’
उनले भने, ‘जसपाका नेताहरुले समय चाहियो चाँडै निष्कर्षमा पुग्छौं भन्नुभयो। पार्टीको निर्णय गर्नलाई समय मागेकोले केही दिनमा बस्ने गरी टुंगिएको छ। सपाले उपर्युक्त निर्णय चाँडै गर्नुहुनेछ भन्ने विश्वासमा छौं।’