काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन र त्यसका लागि सहयोग गर्न तीन दलसँग प्रस्ताव गरेका छन्। देउवा निवास बालुवाटारमा भएको नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र जसपाको संयुक्त बैठकमा बैठकमा सभापति देउवाले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउन प्रस्ताव गरेका हुन्।
छलफलबाट बाहिरिने क्रममा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले देउवाले आफ्नो दलको नेतृत्वमा सरकार बनाउन तीन दलको बैठकमा प्रस्ताव गरेको बताए।
'कांग्रेसका सभापति देउवाले कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रस्ताव गर्नुभयो। तपाईंहरूको धारणा के छ भनेर प्रस्ताव राख्नुभयो,' छलफलमा सहभागी प्रवक्ता श्रेष्ठले भने।
देउवाले प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादी भएको समेत आरोप लगाएका थिए। 'ओली सर्वसत्तावादी भए। सत्ता कब्जा गर्न खोज्दैछन्। यसरी सर्वसत्तावादीको हातबाट लोकतान्त्रिक चुनाव हुँदैन। त्यसैले नयाँ सरकार बनाउनुपर्छ। तपाईहरुको धारणा बुझ्न चाहान्छु,' सभापति देउवालाई उद्धृत गर्दै श्रेष्ठले भने।
छलफलमा तीनै दलका शीर्ष नेताहरू सहभागी थिए।