काठमाडौं- नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका चार जना मन्त्रीहरुको पुनः शपथ ग्रहण शुक्रबार साँझ ५ बजे हुने भएको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ५ बजे शीतल निवासमा उनीहरूको पुनः शपथग्रहण हुने जानकारी दिएका हुन्।
नेकपा एमालेमा प्रवेश गरेका नेकपा माओवादी केन्द्रका सांसदहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री ओलीले पुनः मन्त्रीमा नियुक्त गरेपछि उनीहरूले पुनः शपथ लिने भएका हुन्।
माओवादी केन्द्रले उनीहरू चारै जनालाई स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणपछि माओवादी केन्द्रले उनीहरूलाई सांसद्बाट हटाउन सिफारिस गरेको थियो। बिहीबार प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उनीहरु पदमुक्त भएको जानकारी दिएका थिए। पार्टीबाट निष्काशित भएपछि स्वतः पदमुक्त हुने संवैधानिक व्यवस्था छ।
सांसद पद नभई मन्त्रीमा नियुक्त भएका उनीहरुको कार्यकाल ६ महिनाको हुनेछ। कार्यकाल बढाउनका लागि उनीहरु कुनै पनि माध्यमबाट संघीय संसदको सदस्य भएको हुनुपर्नेछ।