काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवानालाई अझ प्रभावकारी र सहज तरिकाले अनलाइनमार्फत् भुक्तानी गर्ने प्रणालीको विस्तार गरेको छ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले यसअघि नै अनलाइन सेवा प्रदायक संस्थाहरुबाट सिधै ट्राफिक जरिवाना भुक्तानी सुरु भैसकेको र त्यसैलाई निरन्तरता दिँदै अझ बढी सहज, सरल र सुबिधायुक्त बनाउन आजदेखि आफ्नै बैंक खाताबाट सिधै जरिवाना तिर्न सकिने गरी सेवा विस्तार गरेको जानकारी दिए।
यसले आम सवारी चालकहरुलाई जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने, लामो समय व्यर्थ खर्चिनु पर्ने बाध्यताको अन्त्य हुनेछ भने ट्राफिक कार्यालयमा हुने भिडभाडमा समेत कमी आउने उनले बताए।
ट्राफिक महाशाखाले ट्राफिक जरिवाना रकम ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम (टीभीआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सुचना प्रणाली (आरआईएमएस) र सेवा प्रदायक संस्थाहरु वीचमा आबद्ध भई रियल टाइममा सम्बन्धित बैकंको खाता मार्फत भुक्तान हुने गरि सिस्टम संचालन गरेको महाशाखाले जनाएको छ।
शुक्रबारदेखि थप ४५ वटा बैंक तथा बित्तिय संस्था र ७ वटा अनलाइन भुक्तानी सेवा प्रदायक संस्थाहरुबाट सिधै ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने छ भने आगामी दिनमा अन्य सेवा प्रदायक संस्थाहरुसँग समेत जोडिदै जाने महाशाखाको योजना छ।
सम्झौता पत्रमा हस्तान्तरण कार्यक्रममा अनलाईन सेवा प्रदायक कम्पनी फोन पे प्रालिको तर्फबाट दिवस कुमार सापकोटा र नेपाल क्लियरिङ हाउस लि (कनेक्ट आईपियस) का मुन्नी राजभण्डारी तथा अन्य प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
आगामी दिनहरुमा अनलाइन भुक्तानी प्रणाली सेवा संचालनसम्बन्धी यस महाशाखाले निर्धारण गरेको मापदण्ड पुरा गर्ने अन्य सेवा प्रदायकहरुलाई समेत आबद्ध गर्दै लाने योजना रहेको महाशाखाले जनाएको छ।