काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको दोस्रो चौमासिकसम्मको वित्तीय प्रगति २४ प्रतिशतमात्रै भएको छ। आर्थिक वर्ष सकिन करिब ३ महिना बाँकी हुँदा वित्तीय प्रगति २४ प्रतिशतमात्रै भएको हो।
आर्थिक वर्षको ३ महिनामा ७६ प्रतिशत वित्तीय प्रगति गर्न बाँकी छ। गत १९ चैतमा बसेको मन्त्रालयस्तरीय विकास समस्या सामाधान समितिको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त प्रगति विवरण पेश गरेको हो।
समितिका पेश गरेको वित्तीय प्रगतिअनुसार चालूतर्फको ३५ प्रतिशत र पुँजीगततर्फको १३ प्रतिशतमात्रै छ। कुनैपनि सरकारी निकायको वित्तीय प्रगतिले भौतिक प्रगतिको पनि मूल्यांकन गर्ने चलन छ। मन्त्रालयले समितिमा पेश गरेको विवरण अनुसार १७ वटा विभिन्न कानुन, निर्देशिका तथा कार्यविधि स्वीकृत भएका छन्।
मन्त्रालयले स्वीकृत नभइसकेका कानुन, निर्देशिकालाई समेत आफ्नो प्रगति विवरणमा उल्लेख गरेको छ। जसअनुसार २९ कानुन, निर्देशिका तथा कार्यविधि स्वीकृतिको चरणमा रहेका छन्।