सडक छेउछाउका रूख–बिरुवा नयाँ पालुवा हालेर वसन्तयामको सौन्दर्य बढाइरहेका थिए। काठमाडौंका सडक किनाराका रङ्गीबिरङ्गी फूलले सहरको सिङ्गो वातावरणलाई सिँगारिरहेको थियो। प्राकृतिक वातावरण सुरम्य भए पनि नेपाली जनताको मन शान्त थिएन।
लोकतन्त्र, मानव अधिकार र सामाजिक न्याय प्राप्तिको आन्दोलनमा नागरिक सडकमा उत्रिएका थिए। अभियान थियो, तीस वर्षदेखिको निरंकुश पञ्चायती व्यवस्था अन्त्य गरी बहुदलीय व्यवस्थाको पुनः स्थापना। आन्दोलनको अगुवाइ राजनीतिक दलहरूले गरेका थिए। त्यसैले राजनीतिक सरगर्मी तीव्र बढिरहेको थियो।
‘इनक्लाव– जिन्दावाद’, ‘निरङ्कुश पञ्चायती व्यवस्था– मुर्दावाद।’ सडकमा यस्तै नारा घन्किएका थिए। देशभरका सहरी क्षेत्रमा जनता सडकमा उत्रिएका थिए।
२०४६ फागुन ७ गते सुरु भएको जनआन्दोलनलाई मैले भूमिगत नै रहेर सहयोग गर्ने निर्णय गरेँ। पीएल सिंह, भीमसेनदास प्रधान, विजय मालीजस्ता काठमाडौँका ऊर्जावान् युवा राजनीतिज्ञसँग समन्वय गरेर आन्दोलनलाई थप उचाइमा लैजाने अग्रसरता लिएँ। कक्षा १० मा अध्ययनरत मेरी छोरीसमेत पर्चा लेख्न र पञ्चायत विरोधी आन्दोलनमा सक्रिय भइन्।
पद्मरत्न तुलाधर, हरिबोल भट्टराई, हेमन्तबहादुर बीसीलगायतलाई प्रहरीले खिचापोखरीबाट पक्राउ गरेपछि आन्दोलनले गति लिन थालेको थियो। जनता जोश र ऊर्जा बोकेर सडकमा निस्किन थालेका थिए। ४९ दिनदेखि जारी जनआन्दोलन उत्कर्षको नजिकनजिक पुग्दै थियो।
३० वर्षसम्म जनतालाई अँध्यारो गुफामा राख्ने पञ्चायती व्यवस्थालाई फालेर प्रजातन्त्रको नौलो बिहानी भित्र्याउन काठमाडौं, पाटन र भक्तपुरका सडकमा जनता गल्लीगल्लीबाट मोर्चाबद्ध भएर निस्किएका थिए। आन्दोलनको ज्वारभाटा उठिरहेको थियो। देशका अरू भूभागमा पनि जनता जुर्मुराइरहेका थिए।
सरकार नियन्त्रित सञ्चारमाध्यम रेडियो नेपाल र नेपाल टेलिभिजनले आन्दोलनका समाचारलाई खासै प्राथमिकता दिँदैनथे। राजधानीबाट निस्कने केही साप्ताहिक पत्रिकामा मात्र आन्दोलनकारीका समाचार पढ्न पाइन्थ्यो भने हामी देशबाहिरका सहरी क्षेत्रमा आन्दोलनको समन्वय गरिरहेका साथीहरूसँग जानकारी लिन्थ्यौं।
म २०४६ चैत २४ गते भूमिगत जीवन त्यागेर सडकमा उत्रिएको थिएँ। सोही दिन संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिले आमहड्ताल आयोजना गरेको थियो। सहरका विभिन्न भागबाट जुलुस निस्किरहेको थियो। मचाहिँ इन्द्रचोकबाट जुलुसमा मिसिएँ। जुलुस ज्याठा हुँदै ठमेलतिर अघि बढ्यो। ठमेलबाट राजदरबारतिर जाने सडकमा पुगेपछि प्रहरीले अवरोध गर्यो।
जुलुस राजदरबारतिर बढ्दै जाँदा अप्रिय घटना हुने सम्भावना थियो। आन्दोलनकारीले दरबारको सुरक्षार्थ बसेका प्रहरीको घेरा तोड्न खोजे भने रक्तपात मच्चिन सक्थ्यो।
हामी ठमेलस्थित त्रिदेवी मार्गको सडकमै बस्यौं। मैले साथीहरूसँग प्रस्ताव गरें, ‘चीनको तियानमेन स्क्वायरमा विद्यार्थी बसेजस्तै हामी पनि यहीँ सडकमा नै धर्ना कसेर बसौं।’ हामी सडकमा त बस्यौं। तर, कतिन्जेल बसिरहने ? उच्चाटलाग्दो बसाइबाट वाक्क भएर जुलुस अगाडि बढ्न खोज्यो।
मैले प्रहरी अधिकृतलाई भनें, ‘आन्दोलनकारी आक्रोशित हुँदै छन्। हामीले अप्रिय घटना हुनबाट रोक्नुपर्छ। अब हाम्रो जुलुस नरोक्नुस्। हामी बहादुरभवन (निर्वाचन आयोग) भएर जान्छौं, राजदरबारतर्फ जाँदैनौं।’ किनकि हामी आन्दोलनले रक्तपातपूर्ण अवस्था नल्याओस् भन्ने पक्षमा थियौं।
बहादुरभवनबाट अगाडि बढेको जुलुस दरबार हाइस्कुल हुँदै खुलामञ्चमा पुगेर सभामा परिणत भयो।
नेपाली काङ्ग्रेसका सर्वोच्च नेता गणेशमान सिंह वीर अस्पतालमा उपचाररत हुनुहुन्थ्यो। जनआन्दोलन सुरु हुँदै पक्राउ परेका उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो। खुलामञ्चमा जुलुस पुगेपछि सहभागीमध्ये कतिपयले भन्न थाले, ‘गणेशमानजीलाई खुलामञ्चमा ल्याउनुपर्छ, हामीले उहाँलाई आफ्नो कुरा राख्न लगाउनुपर्छ।’
मैले सोचेँ, राजनीतिक बन्दी जीवन बिताइरहेका मानिसलाई अस्पतालबाट खुलामञ्चमा ल्याउने कुरा त्यति सम्भव हुँदैन। प्रहरीको घेराबीच उपचार गराइरहेका मानिसलाई कसरी ल्याउन सकिएला र ?
अधिकांश आन्दोलनकारीले गणेशमानजीलाई खुलामञ्चमा ल्याउनुपर्छ भन्ने आवाज उठाउन थाले। म केही साथीसँग वीर अस्पताल गएँ। क्याबिनमा रहेका गणेशमानजीसँगै दुर्गेशमान सिंह पनि हुनुहुन्थ्यो। मैले गणेशमानजीसँग आग्रह गरें, ‘खुलामञ्चमा हजारौं मानिस उपस्थित भएका छन्। उनीहरू तपाईंको सन्देश सुन्न चाहन्छन्। तपाईंले एउटा सन्देश दिनुप¥यो। त्यसले आन्दोलनमा ऊर्जा थप्न मद्दत पुर्याउनेछ।’
उहाँले एउटा कागजमा लेखेर सन्देश दिनुभयो।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी) का नेता मनमोहन अधिकारी पनि वीर अस्पतालमा नै उपचाररत हुनुहुन्थ्यो। मैले साथीहरूलाई सोधें, ‘गणेशमानजीको मात्र सन्देश लिएर जाने ? मनमोहनजीको कुनै सन्देश नलैजाने ?’ कांग्रेस र वामपन्थी दुवै समूहले मिलेर गरेको आन्दोलनमा दुवै पक्षका जनताको व्यापक सहभागिता थियो। त्यसैले दुवै नेताको सन्देशले आन्दोलनकारीलाई थप ऊर्जा प्राप्त हुने ठानेर हामीले जनतासामु उहाँहरूको सन्देश प्रवाह गर्ने अठोट गरेका थियौं।
साथीहरूले मनमोहनजीको पनि सन्देश प्रवाह गर्न सहमत भएपछि हामी उहाँलाई भेट्न गयौं। अनि दुवै नेताको सन्देश लिएर हामी हतारहतार खुलामञ्चतर्फ लाग्यौं। आन्दोलनकारीहरु प्रिय नेताहरूको सन्देश सुन्न व्यग्र थिए।
खुलामञ्चको सभामा हामीले दुवै नेताको सन्देश सुनायौं। उहाँहरूको सन्देशको सार यस्तो थियो– आन्दोलन थप उचाइमा पुर्याउन नेपाली जनताले खेलेको भूमिका उच्च प्रशंसायोग्य छ। केही दिनमै हामी विजयको नजिक पुग्दै छौं।
नेताहरूको सन्देश सुनाएपछि आमसभाका सहभागीले ताली र सिठी बजाएर स्वागत गरे। त्यसपछि आन्दोलनकारीलाई थप ऊर्जा प्राप्त भयो।
आमसभामा मसहित डा. मथुराप्रसाद श्रेष्ठ, मोदनाथ प्रश्रित र तीर्थराम डङ्गोलले सम्बोधन गर्यौं। हामीले सम्बोधन गरिरहँदा कीर्तिपुरबाट विशाल जुलुस आयो। जुलुस रत्नपार्क हुँदै राजदरबारतर्फ लाग्यो। त्यहाँ आमसभामा रहेका आन्दोलनकारी पनि मिसिएका रहेछन्।
केहीबेरमा खुलामञ्चको सभा सकियो। आन्दोलनकारीहरू यताउति गर्न थाले। मच्छिन्द्रबहाल भएर अगाडि बढ्दा हामीले सुन्यौं, ‘दरबारमार्गमा गोली चल्यो, धेरै मानिस हताहत भए।’ हाम्रो ध्यान त्यसतर्फ मोडियो।
कीर्तिपुरतिरबाट अघि आएको जुलुसका सहभागीले दरबारमार्गमा रहेको राजा महेन्द्रको सालिक तोडफोड गरेछन्। जुलुस राजदरबारतिर अगाडि बढ्न थालेपछि प्रहरीले अन्धाधुन्ध गोली चलायो। केही व्यक्तिको घटनास्थलमै मृत्यु भयो। कैयौं घाइते भए।
हामीले रक्तपातपूर्ण घटना नहोस् भनेर एउटा जुलुसलाई केशरमहलबाटै फर्काउन सफल भए पनि अर्को जुलुस रोक्न सकेनौं। अप्रिय घटना भएरै छाड्यो। त्यो घटनाले तत्कालीन राजा वीरेन्द्र झुक्न बाध्य भए। सोही दिन उनले लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा दुई सदस्यीय मन्त्रिपरिषद् गठन गरे। भोलिपल्टदेखि आन्दोलन झन् उग्र हुँदै गयो।
चैत २६ गते राति राजा वीरेन्द्रले दलमाथिको प्रतिबन्ध फुकुवा गरे। देशको शासनसत्ता जनताको हातमा सुम्पिँदा राजा वीरेन्द्र पक्कै दुःखी थिए होलान् तर लामो सङ्घर्षपछि उपलब्धि हासिल हुँदा यो वीरेन्द्र भने निकै खुसी भएको थियो।
(श्रेष्ठको प्रकाशोन्मुख कृति ‘कुखुराको भाले’बाट)