काठमाडौं– सरकारले कोरोना भाइरस परीक्षणका लागि जिन एक्सपर्ट विधि सञ्चालनमा ल्याएको छ।
टेकु प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार जिन एक्सपर्ट कोरोना परीक्षणको एक विधि हो। उक्त विधिबाट ३ घण्टामा नै रिजल्ट निकाल्न सकिन्छ।
यसअघि पीसीआर गरिँदै आएकोमा अबदेखि पीसीआरसँगै जिन एक्सपर्ट विधिबाट पनि परीक्षण गरिनेछ। यो विधिबाट परीक्षणको लागि छुट्टै मेसिन तथा किटको आवश्यकता पर्छ। राष्ट्रिय प्रयोगशालाले सूचना निकाल्दै जिन एक्सपर्ट विधिबाट परीक्षण गर्दा नतिजाका लागि ३ घण्टामात्र लाग्ने र परीक्षण शुल्क १ हजार रुपैयाँ लाग्ने जनाएको छ।
राष्ट्रिय प्रयोगशालामा बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म कोरोना परीक्षण गरिन्छ। तुरुन्त उपचार गर्नुपर्ने अवस्था जनाएर चिकित्सक वा अन्य अस्पतालले सिफारिस गरेमात्रै उनीहरुको जिन एक्सपर्ट विधिमार्फत कोरोना परीक्षण गरिन्छ।