आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सहरी सौन्दर्य बिगार्दै गुजुल्टिएका तार, जोखिम उत्तिकै

सहरी सौन्दर्य बिगार्दै गुजुल्टिएका तार, जोखिम उत्तिकै

सडकछेउका खम्बामा टाँगिएका तारले काठमाडौं सहर कुरूप बनेको छ। 
 |  बुधबार, चैत २५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत २५, २०७७

काठमाडौं– सडकछेउका खम्बामा टाँगिएका तारले काठमाडौं सहर कुरूप बनेको छ। 

व्यापारिक संस्थाहरूले तार नहटाउँदा दिनप्रतिदिन सहर फोहोर हुँदै गएको हो। तार व्यवस्थापनमा सरकारी निकाय मौनजस्तै छन्।

नेपाल टेलिकम र विद्युत् प्राधिकरणका खम्बामा केबुल र इन्टरनेट सेवा प्रदायकले तार टाँगेका छन्। तर कुनै पनि निकायले तार व्यवस्थित गरेका छैनन्। 

तारमाथि तार थपिँदा कतै गुजुल्टा परेका छन् त कतै तुर्लुङ्ग झुन्डिएका छन्।

मुख्य प्रशासनिक केन्द्र सिंहदरबार आसपास, संघीय संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा पनि असरल्ल तार देखिन्छन्।

कतिपय सडकमा झुन्डिएका तारले पैदल यात्रीलाई पनि अवरोध हुँदै आएको छ। यस्ता तार भूमिगत रूपमा व्यस्थापन गर्ने भनिए पनि कार्यान्वयन हुन सकेको छैन।

तीन वर्षअघि सञ्चार मन्त्रालय र काठमाडौं महामनगरपालिकाबीच काठमाडौंंको सुन्दरता कायम राख्न टेलिफोनका तार व्यस्थित गर्ने सहमति भएको थियो।

सोहीबमोजिम तत्कालीन सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले राजधानीको सुन्दरता कायम राख्न तार हटाउन नेपाल टेलिकम, इन्टरनेट सेवा प्रदायक संस्था र केबल अपरेटरलाई निर्देशन दिएका थिए। तर न सहमति कार्यान्वयन भएको छ, न त मन्त्रीको निर्देशनको पालना हुन सकेको छ। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता शोभाकान्त पौडेल अव्यवस्थित तार हटाउन सरोकारवाला निकायसँग समन्वय भइरहेको दाबी गर्छन्। कहिलेसम्म तार व्यवस्थापन गरिसक्ने भन्नेबारे पौडेललाई पनि थाहा छैन।

उनी भन्छन्, ‘तार व्यवस्थापनका लागि सरोकारवाला निकायसँग समन्वय गरिरहेका छौं।’ काठमाडौं महानगरपालिकाको पनि विगत तीन वर्षदेखि एउटै रटान छ– हामी काम गरिरहेका छौं।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल तार व्यवस्थापनका लागि सरोकारवाला निकायसँग समन्वय भइरहेको बताउँछन्। उनले महानगरले त्रिपुरेश्वरदेखि महाराजगन्जसम्मका अव्यवस्थित तार व्यवस्थापन गरेको बताउँदै अन्य स्थानका तार पनि छिट्टै व्यवस्थित गर्ने जानकारी दिए।

‘अनावश्यक तार गुजुल्टो पारी मुठो बनाउन र बाँकीलाई हटाउन महानगर लागिपरेको छ’, डंगोलले भने, ‘सम्बन्धित निकायसँग छलफल गरी छिट्टै तार व्यवस्थापन गर्छौं।’

काठमाडौं मात्र होइन, ललितपुर र भक्तपुरका सहरी क्षेत्रमा पनि गुजुल्टिएका तारले सहरी सौन्दर्य बिगारेका छन्। सडकमा हिलो र धुलो सहँदै आएका राजधानीवासी सडकमाथिको तारले झन् आजित छन्।

प्रकाशित: Apr 07, 2021| 06:20 बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।