आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेशसभाका विषयगत समितिमा सांसदको बेवास्ता, बैठकमा कोरम पुर्‍याउनै धौ

प्रदेशसभाका विषयगत समितिमा सांसदको बेवास्ता, बैठकमा कोरम पुर्‍याउनै धौ

गण्डकी प्रदेश सभामा ४ वटा विषयगत समिति छन्। कामका आधारमा विधायन समिति धेरै क्रियाशील छ। तर कामको नतिजामा भने लेखा समिति अगाडि छ।
 |  बुधबार, चैत २५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत २५, २०७७

पोखरा– गण्डकी प्रदेशसभाको सार्वजनिक लेखा समितिमा सभापतिसहित १३ सदस्य छन्। समितिको बैठक बस्न कम्तीमा २५ प्रतिशत उपस्थित हुनुपर्छ।

प्रस्ताव पारित गर्न बहुमत सदस्य अर्थात् ५० प्रतिशतभन्दा बढीको उपस्थिति अनिवार्य छ। मत बराबर भएमात्र समिति सभापतिले निर्णायक मत दिन पाउने व्यवस्था छ। यसर्थ सामान्य अवस्थामा प्रस्ताव पारित गर्न सभापतिसहित ८ जना उपस्थिति हुनुपर्छ। 

समितिको बैठक मंगलबार बिहान ११ गते नदीपुरस्थित कार्यालयमै बोलाइएको थियो। बैठकमा छलफल हुने एजेन्डाका बारेमा पहिल्यै जानकारीसमेत गराइएको थियो। समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने मुख्य एजेन्डा थियो।

समितिको प्रभावकारिताबारे समेत छलफल गरिनेसचिवालयले सदस्यहरुलाई जानकारी गराएको पनि हो। बिहान ११ बजेपछि समितिका सदस्यहरु आउनेक्रम सुरु भयो। सभापति कुमार खड्का आउन केही ढिला गरे। जिल्ला प्रशासन कार्यालय कास्कीमा छलफल भएकाले केहीबेर ढिलाइ भएको भनेर माफी माग्दै उनी बैठक कक्ष प्रवेश गरे। साथमा थिए समिति सदस्य बिन्दुकुमार थापा। 

केहीबेरको अनौपचारिक छलफलपछि सभापति कुमार खड्काले बैठक सुरु गरे। सँगै एजेन्डा पनि राखे। पहिलो एजेन्डा वार्षिक प्रतिवेदनमाथि छलफल गरेर पारित गर्ने थियो। तर प्रस्ताव पारित गर्नका लागि बैठकमा सदस्य संख्या अपुग थियो। समिति सदस्य मेखलाल श्रेष्ठ फोन गरेर अरु सदस्य बोलाउँदै थिए। तर थपिने छाँटकाँट थिएन। सभापतिबाहेक ७ सदस्य चाहिनेमा ६ जनामात्र थिए।

यसैबीचमा सभापतिले कुमार खड्काले भने, ‘माननीय प्रभा कोइराला आउँदै हुनुहुन्छ, उहाँ आएपछि प्रस्ताव पारित गरौंला, छलफल भने गर्दै गरौं।’ पहिलो प्रस्तावमा छलफल सकिएर दोस्रोमा प्रवेश गरेलगत्तै समिति सदस्य प्रभा कोइराला आइन्। अनि बल्ल प्रस्ताव पारितका लागि प्रक्रिया अगाडि बढाइयो। मंगलबारको बैठकमा सभापतिसहितदिलमाया रोकामगर, प्रकाशचन्द्र दवाडी, प्रभा कोइराला, बिन्दुकुमार थापा, मायानाथ अधिकारी, मेखलाल श्रेष्ठ र रामजी बराल जीवन उपस्थित थिए। 

प्रदेश सभाका ४ मध्ये सबैभन्दा क्रियाशील र कामका हिसाबले प्रभावशाली छ सार्वजनिक लेखा समिति। क्रियाशील समितिमा त कोरम पुर्याउन यत्तिका सकस हुन्छ भने अरु समितिको हाल के होला ? समिति बैठकमा कोरम पुर्याउन धौ परेको यो नै पहिलोपटक भने होइन। धेरैपटक यस्तो अवस्था पार गरिएको बताउँछन् सचिवालयका कर्मचारी। 

आर्थिक वर्ष २०७६–७७ मा सार्वजनिक लेखा समितिका १२ वटा बैठक बसे। तीमध्ये सबै बैठकमा उपस्थित हुने सभापतिसहित ३ जना छन्। सभापति खड्का, सदस्य ओमकला गौतम र गायत्री गुरुङ १२ वटै बैठकमा उपस्थित भए। रामजीप्रसाद बराल जीवन १० वटा बैठकमा सहभागी हुँदा जुनादेवी नेपाली, बिन्दुकुमार थापा र मायानाथ अधिकारी ९–९ वटा बैठकमा उपस्थित भएर हाजिर गरेका छन्। प्रभा कोइराला ८ वटा, दिलमाया रोकामगर, मेखलाल श्रेष्ठ ७–७ बैठकमा र महेन्द्रबहादुर थकाली र रामबहादुर गुरुङ ४–४ वटा बैठकमा सहभागी भए। महेन्द्रबहादुर थकाली जम्मा २ वटा बैठकमा सहभागी भए। 

समिति सदस्य रामजीप्रसाद बराल जीवन समितिको आवश्यकताभन्दा पनि सदस्यको अनुकूलता हेरी बैठक बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताउँछन्। उनले भने, ‘विषयवस्तुको गम्भीरताप्रति सभापतिज्यू संवेदनशील हुनुहुन्छ, तर समितिका सदस्यले कति बोध गर्न सके भन्ने महत्वपूर्ण हो।’ समिति सभापति कुमार खड्का समितिका सदस्यलाई क्रियाशील बनाउन आफू लागिरहेको बताउँछन्। उनले भने, ‘सरकारले गरेको कामको मूल्यांकन गर्दै आर्थिक सुशासनका लागि हामी प्रतिबद्ध छौं, सदस्य माननीयको सक्रियता बढाउन म क्रियाशील छु।’ 

गण्डकी प्रदेश सभामा ४ वटा विषयगत समिति छन्। कामका आधारमा विधायन समिति धेरै क्रियाशील छ। तर कामको नतिजामा भने लेखा समिति अगाडि छ। त्यसपछि अर्थ तथा विकास समितिको सक्रियता छ। प्रदेश मामिला समितिको बैठक भने यदाकदामात्रै बस्छ। गण्डकी प्रदेश सभामा दर्ता भएका विधेयक अन्य विषयगत समितिमा नभई विधायन समितिमा मात्रै छलफल गरी प्रारित गर्ने प्रावधान छ।

प्रकाशित: Apr 07, 2021| 01:23 बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।