शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • जगदम्बा डिस्ट्रिब्युटर, हरिओम आयल र हुलास स्टिलविरुद्ध मुद्दा दायर

जगदम्बा डिस्ट्रिब्युटर, हरिओम आयल र हुलास स्टिलविरुद्ध मुद्दा दायर

उपभोक्ता ठग्ने ती व्यापारिक फर्मलाई स्ट्यान्डर्ड र नापतौल ऐन–२०५५ को दफा ३० (२) अन्तर्गत कारवाही प्रक्रिया अघि बढाइएको छ।एक वर्ष कैद र १० हजार जरिवाना गरी कारबाही गर्नुपर्ने माग दाबीसहित मुद्दा दायर गरेको हो। 
 |  सोमबार, चैत २३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २३, २०७७

पर्सा- गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले बारा र पर्साका तीन व्यापारिक फर्ममाथि नापतौल कसुरसम्बन्धी मुद्दा दायर गरेको छ।जगदम्बा डिस्टिब्युटर प्रालि, हरिओम आयाल स्टोर र हुलास स्टिलविरुद्ध कार्यालयले बारा र पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। 

जगदम्बा डिस्टिब्युटरले राजश्व चुहावट गरेको, हरिओम आयाल स्टोरले उपभोक्तालाई बढी मूल्य लिएर कम परिणाममा तेल बिक्री गरेको र हुलास स्टिलले अनुमतिविपरीत नापतौल यन्त्र प्रयोग गरेकाले उनीहरुलाई बारा र पर्सा जिल्ला अदालतमा हदैसम्मको सजायको माग गर्दै मुद्दा दायर गरिएको कार्यालयका प्रमुख शशीभुषण यादवले जानकारी दिए। 

उपभोक्ता ठग्ने ती व्यापारिक फर्मलाई स्ट्यान्डर्ड र नापतौल ऐन–२०५५ को दफा ३० (२) अन्तर्गत कारवाही प्रक्रिया अघि बढाइएको छ।एक वर्ष कैद र १० हजार जरिवाना गरी कारबाही गर्नुपर्ने माग दाबीसहित मुद्दा दायर गरेको हो। 

कार्यालयले चालू आर्थिक वर्षको हालसम्ममा १२६ व्यापारिक फर्ममा अनुगमन गरेको छ। सो कार्यालयले वीरगञ्जको मीना बजार र घण्टाघरको उत्तर तर्फ रहेको तरकारी बजारका व्यापारी उपभोक्ता ठग्ने व्यापक गुनासो आएकाले अन्य निकायसँग समन्वय गरी अनुगमन गर्ने बताइएको छ।

व्यापारीले प्रयोग गर्ने ढक, तराजु, लिटर, कपडा नाप्ने मिटर, काँटा, धर्मकाँटा, पेट्रोलियम पदार्थ, सुनचाँदी तौलने तराजुको नवीकरणसमेत नगरेकाले लाखौं रुपैयाँ राजस्व छली हुँदै आएको छ।

व्यापारीले सीमावर्ती भारतीय बजार रक्सौल, बेतीया, सिकटालगायत भारतीय बजारबाट विद्युतीय तराजु किनेर ल्याउने गरेको र कार्यालयमा दर्ता नै नगरी प्रयोग गर्ने गरेको व्यापक गुनासो आउन थालेकाले स्थानीय प्रहरी, सम्बन्धित निकायसँग समन्वय गरी वीरगञ्ज बजारमा रहेको व्यापारिक पसलमा चाँडै नै अनुगमन गर्ने कार्यालयले जनाएको छ।

वीरगञ्जका मीनाबजार, आदर्शनगरलगायत ठाउँमा विगत लामो समयदेखि अनुगमन हुन नसक्दा उपभोक्ता ठगिदै आएको उपभोक्ता सञ्जयकुमार प्रजापतिको आरोप रहेको छ। तर कार्यालयले ती बजारमा अनुगमन गर्दा व्यापारीले अवरोध गर्ने गरेकाले त्यहाँ अनुगमन हुन नसकेको तर्क अघि सारेको छ। -रासस

प्रकाशित: Apr 05, 2021| 07:38 सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्