सुर्खेत- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्षले कर्णाली प्रदेशको सरकार ढाल्ने तयारी गरेको छ। आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि सरकार ढाल्ने तयारीमा ओली पक्ष जुटेको हो।
आइतबार एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा माग गर्ने निर्णय गरेको छ।
‘चैत ४ गते नै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको अवस्थामा सरकार अल्पमतमा छ,’ एमाले संसदीय दलका नेता यामलाल कँडेलले भने, ‘नैतिकताका आधारमा मुख्यमन्त्रीलाई पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गरिदिन अनुरोध गरिएको छ।’ मुख्यमन्त्री शाही माओवादी केन्द्रका नेता हुन्।
बैठकले एमालेबाट सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढालाई राजीनामा दिनसमेत गरेको छ।
‘बैठकमा सांसदहरुले हाम्रो नेतृत्वमा सरकार गठन गर्नुपर्छ भन्ने राय राख्नु भयो,’ कँडेलले भने, ‘एमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले पनि केही दिनमै राजीनामा दिनुहुन्छ।'
एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले २४ घण्टाभित्र राजीनामा दिने प्रतिबद्धता जनाएको कँडेलको दाबी छ। ‘दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको अवस्थामा मन्त्रीहरु पदमा बसिरहनु हुँदैन,’ उनले भने, ‘मन्त्रीले राजीनामा दिनुहुन्छ।’
दलको बैठक चैत २४ गतेसम्मका लागि स्थगित भएको छ। २४ गतेअघि नै एमालेका मन्त्रीहरुले राजीनामा दिने एमाले ओली पक्षका सांसदहरुको जिकिर छ।
यता मन्त्रीहरुले भने राजीनामा दिने विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्। सरकारमा सहभागी सबै मन्त्रीहरु एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकटका हुन्। मन्त्रीहरुले आफूले कुनै पनि प्रतिक्रिया दिन नमिल्ने बताएका छन्।
‘म अहिले केही बोल्न चाहन्नँ,’ उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले भने, ‘अहिले कुनै प्रतिक्रिया दिँदैन।’
एमाले सरकारबाट बाहिरिएको खण्डमा एमालेकै नेतृत्वमा नयाँ सरकार गठन हुनेछ। नयाँ सरकार गठनका लागि एमालेलाई एक सांसदको समर्थन आवश्यक पर्छ।
४० सदस्यीय प्रदेशसभामा माओवादीका सांसद धर्मराज रेग्मी कारबाहीमा परेपछि हाल ३९ सांसद छन्। जसमध्ये एमालेमा सभामुखसहित २०, माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र राप्रपाको एक सांसद छन्।