बिहीबार, असोज २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • चौथो टी-२० मा भारतलाई हराउँदै वेस्ट इन्डिजले बराबरी गर्‍यो सिरिज

चौथो टी-२० मा भारतलाई हराउँदै वेस्ट इन्डिजले बराबरी गर्‍यो सिरिज

 |  बिहीबार, असोज २९, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०८३

काठमाडौं- वेस्ट इन्डिजले भारतलाई चौथो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २४ रनले पराजित गरेको छ। गएराती हैदराबादमा सम्पन्न खेलमा जित निकाल्दै वेस्ट इन्डिजले पाँच खेलको सिरिज २–२ को बराबरीमा ल्याएको हो।

वेस्ट इन्डिजले दिएको २४८ रनको लक्ष्य पछ्याएको भारत १९.३ ओभरमा अल आउट हुदै २२३ रन बनाएको थियो। भारतका लागि सञ्जु सामसनले २३ बलमा ५६ रन बनाएका थिए भने तिलक वर्माले २५ बलमा ४३ तथा नितिश कुमार रेड्डीले २० बलमा ४१ रन बनाए पनि भारतलाई जिताउन सकेनन्।

भारतको इनिङ्स ध्वस्त पार्ने क्रममा वेस्ट इन्डिजका केमो पलले ४ ओभरमा ४१ रन खर्चेर ५ विकेट लिए भने गुडाकेश मोतीले २ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २४७ रन बनाएको थियो। टोलीका कप्तान शाइ होपले उत्कृष्ट शतकीय इनिङ्स खेलेका थिए। उनले ५० बलमा अविजित १०२ रन बनाए। उनको इनिङ्समा ४ चौका र ९ छक्का समावेश थिए। त्यस्तै, शेरफेन रदरफोर्डले २६ बलमा अविजित ४९ रन बनाए। शिमरोन हेटमायरले १२ बलमा ३३ तथा कप्तान होपसँग ओपनिङ गरेका ज्वेल एन्ड्र्युले १६ बलमा २१ रन जोडेका थिए।

भारतका अक्षर पटेल, प्रिन्स यादव र अर्शदीप सिंहले एक–एक विकेट लिए।

शानदार शतकीय इनिङ्स खेलेका शाइ होप खेलको उत्कृष्ट खेलाडी घोषित भए। उनले यसअघि पनि भारतविरुद्ध शतक बनाएका थिए।

चौथो खेलमा जित निकालेसँगै वेस्ट इन्डिजले पाँच खेलको सिरिज बराबरी गरेको छ। अब पाँचौँ तथा अन्तिम खेल अक्टोबर १७ मा बेङ्गलुरुमा हुनेछ। उक्त खेल जित्ने टोलीले सिरिज आफ्नो पक्षमा पार्नेछ।

प्रकाशित: Oct 15, 2026| 09:38 बिहीबार, असोज २९, २०८३
प्रतिक्रिया दिनुहोस्