काठमाडौं- पसलबाट सामग्री चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। सिसिटिभीमा कैद भएको दृश्यका आधारमा प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका-३ का ३२ वर्षीय धनलाल थापा मगर छन्। प्रहरीले उनका साथबाट मोबाइल १ थान, फलामको रड थान १ थानलगायतका सामग्री र नगद ४ हजारसमेत बरामद गरेको छ।
फागुन ७ गते बिहान २ बजे काठमाडौंको तीनकुनेस्थित जुनार हिलटप बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरेको पसलबाट नगद, मोबाइललगायतका सामग्री चोरी गरेको आरोप उनीमाथि लागेको छ। उनले १ लाख ३५ हजार २ बराबरका सामग्री चोरी गरेको बताइएको छ।
थप अनुसन्धानका लागि उनलाई महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको छ।
