काठमाडौं- सेयर बजार परिसूचक (नेप्से) आइतबार हालसम्मकै उच्च अंकमा पुगेको छ। साताको पहिलो कारोबार दिन २५.७१ अंकले बढेर नेप्से २६५७.६१ अंकमा पुगेको हो। यसअघि नेप्सेले २६४३ अंकसम्म पुगेको थियो।
आइतबार २१२ कम्पनीको ९ अर्ब ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
कारोबारमा आएका १३ उपसमूहमध्ये ८ उपसमूहको सूचक बढेको छ भने बाँकी ५ उपसमूहको सूचक घटेको छ।
यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.९७ प्रतिशतले बढेको छ। त्यसैगरी, वित्त उपसमूहको ३.६६ प्रतिशत, अन्यको ३.४१ प्रतिशत र जलविद्युतको १.५ प्रतिशत बढेको छ।
७ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको आइतबार व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.३९ प्रतिशत घटेको छ भने लगानी उपसमूहको २.४६ प्रतिशत घटेको छ।
वोमी माइक्रोफाइनान्स, जनरल इन्स्योरेन्स, राधी विद्युत कम्पनी, आइएमई जनरल इन्स्योरेन्स, एनआइसी एसिया लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र साञ्जेन जलविद्युतको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
साल्ट ट्रेडिङ कर्पोरेसन, सर्पोट माइक्रोफाइनान्स र एनआइडिसीएलको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ।
कारोबार रकमका आधारमा यस दिन पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड शीर्ष स्थानमा छ। बैंकको यस दिन ४६ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।