भारतले सन् २०२० को अन्तसम्म कोरोना भाइरसको संक्रमण रोक्नका लागि धेरै हदसम्म सफलता पाएको थियो। तर पछिल्लो समय पुनः संक्रमण तीव्र गतिमा फैलन थालेको छ। जानकारहरूका अनुसार कोरोनाको नयाँ रूप 'डबल म्युटेन्ट भेरियन्ट' संक्रमण न्यूनीकरणको चुनौती बनेको छ।
भारतका धेरैजसो राज्यमा कोरोनाको नयाँ रूप डबल म्युटेन्ट भेरियन्टको संक्रमण बढ्दै गएको देखिएको छ। यो भेरियन्टका संक्रमित बढेसँगै कोरोना संक्रमणको दोस्रो लहर आएको बताउन थालिएको छ। पछिल्लो पटक देखिएको कोरोनाको नयाँ रूप यसअघिको रूपभन्दा धेरै खतरनाक मानिएको छ।
भारतका १८ राज्यमा कोरोना भाइरसको नयाँ रूप भेटिइसकेको छ। 'इन्डियन सार्स-कोभ-२ कन्सोर्टियम अन जेनोमिक्स'ले कोरोना भाइरसको डबल म्युटेन्ट भेरियन्टका नमुनाहरूको अध्ययन (जेनोमिक्स सिक्वेन्सिङ) गरिरहेको छ।
यो कन्सोर्टियम भारतको स्वास्थ्य मन्त्रालयअन्तर्गत बनाइएको १० वटा प्रयोगशालाहरूको समूह हो। कन्सोर्टियमले देशका विभिन्न क्षेत्रमा भेटिएका कोरोना भाइरसका नमुनाको जेनोमिक्स सिक्वेन्सिङ गर्दै आएको छ।
भारतको राष्ट्रिय रोग नियन्त्रण केन्द्र (एनसिडिसी)का निर्देशक सुजीतकुमार सिंहका अनुसार भारतमा कोरोनाको डबल म्युटेन्ट भेरियन्टका ७७१ नमुना भेटिइसकेका छन्। यीमध्ये ७३६ वटा नमुनामा बेलायती भेरियन्टको कोरोना भाइरस भेटिएको छ भने ३४ नमुनामा दक्षिण अफ्रिकी भेरियन्ट भेटिएको छ। यस्तै एक नमुनामा भने ब्राजिलियन भेरियन्ट भेटिएको छ। यो अप्रिल २, २०२१ सम्मको तथ्यांक हो।
कोरोनाको डबल म्युटेन्ट भेरियन्ट के हो ?
२०२० को डिसेम्बरदेखि हालसम्म महाराष्ट्रमा संकलन गरिएका नमुनाहरूको विश्लेषण गर्दा 'ई-४८४-क्यू' र 'एल-४५२-आर' म्युटेसनका नमुना बढ्दै गएको देखिएको भारतीय अधिकारीहरुको भनाइ छ।
एउटा कुनै भाइरसका दुई बेग्लाबेग्लै भेरियन्ट मिलेर तेस्रो नयाँ भेरियन्ट बन्छ भने त्यसलाई डबल म्युटेन्ट भेरियन्ट भनिन्छ। अखिल भारतीय आयुर्विज्ञान संस्थानका पूर्व सुपरिटेन्डेन्ट एमसी मिश्र भन्छन्, 'एउटा कुनै भाइरसको दुई भेरियन्ट मिलेर तेस्रो भेरियन्ट बन्छ भने त्यसलाई डबल म्युटेन्ट भाइरस भनिन्छ। भारतमा देखिएको डबल म्युटेन्ट भेरियन्ट कोरोनाका दुई भेरियन्टहरू ई-४८४-क्यू र एल-४५२-आर मिलेर बनेको हो।'
सबैभन्दा पहिले अमेरिकामा एल-४५२-आर नामक कोरोनाको भेरियन्ट भेटिएको थियो। ई-४८४-क्यू भने भारतमा नै भेटिएको कोरोनाको भेरियन्ट हो। 'भारतमा नै कोरोनाको एक भेरियन्ट रहेका कारण कोरोनाको डबल म्युटेन्ट भेरियन्ट तीव्र गतिमा बढेको हुन सक्छ। यसर्थ हामीले परीक्षण बढाउनुपर्छ।'
दोहोरो संक्रमणको आशंका
भारतमा कोरोनाको संक्रमण यति तीव्र गतिमा फैलन सक्छ भनेर आकलन गरिएको थिएन। स्वास्थ्य मामिलाका जानकार साहिद जमीलका अनुसार परीक्षणको दायरा तीव्र रूपमा बढाएर अध्ययन गर्नुपर्छ।
'पछिल्ला दिनमा भारतमा संक्रमण बढ्नुको कारण कोरोनाको नयाँ भेरियन्ट नै प्रमुख कारण हो भनेर निश्चित गर्न सकिने अवस्था छैन। नयाँ भेरियन्टकै कारण बढेको हुन पनि सक्छ। हामीले यसको खोजी गर्न जरुरी छ।'
डबल म्युटेन्ट भेरियन्टले शरीरको रोग प्रतिरोधात्मक प्रणालीमा हानि पुर्याउन सक्छ। यसको अर्थ दोस्रो पटक पनि कोरोना संक्रमण हुन्छ नै भन्नेचाहिँ होइन। कोरोनाको नयाँ भेरियन्टले भ्याक्सिनलाई पनि निष्प्रभावी बनाउने क्षमता राख्ने संकलित केही केही नमुनामा देखिएको छ।
इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चमा महामारी तथा संक्रामक रोग विज्ञान विभागका पूर्वप्रमुख रहेका ललित कान्त भन्छन्, 'पछिल्लो पटक भेटिएको नयाँ भेरियन्टको कोरोना भाइरसमा नयाँ 'स्पाइक' देखिएको छ। यसकारण यसले तीव्र गतिमा संक्रमण फैलाइरहेको छ।'
बढ्दै संक्रमण
महाराष्ट्रमा सबैभन्दा बढी कोरोनाको नयाँ भेरियन्टबाट संक्रमित भेटिएका छन्। महाराष्ट्रका कैयौँ स्थानमा कडा लकडाउन गरिए पनि संक्रमण कम भएको छैन।
नयाँ दिल्लीमा एकैदिन १९ सयभन्दा बढी कोरोना संक्रमित भेटिएका छन्। यो गत वर्ष डिसेम्बर १५ यताकै सबैभन्दा बढी हो। पछिल्लो एक सातामा देशभर दैनिक ४० हजारभन्दा बढी संक्रमित भेटिन थालेका छन्। जनवरी र फेब्रुअरी महिनामा भारतमा कोरोनाको संक्रमण निकै घटेको थियो।
सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न अनुरोध गरिरहेको छ। पछिल्लो साता १२ राज्य तथा केन्द्र शासित प्रदेशका अधिकारीहरूको उच्चस्तरीय बैठकपछि केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले भनेका थिए, 'महामारी नियन्त्रण गर्न ५ रणनीति बनाइएको छ। यसअनुसार ४६ जिल्लामा १४ दिनसम्म रोकथामका प्रयासका साथै कन्ट्याक्ट ट्रेसिङका काम प्रभावकारी रूपमा अघि बढाइनेछ।'
गत वर्षको जस्तो संक्रमणको भयावह स्थिति आउन नदिने सुनिश्चित गर्न केन्द्र सरकारले राज्यका स्वास्थ्य अधिकारीहरूलाई निर्देशन दिएको छ।
भारतमा १६ जनवरीबाट कोभिडविरुद्धको खोप अभियान सुरु भए पनि देशभर ६ करोड मानिसलाई मात्र भ्याक्सिन लगाइएको छ। अप्रिल १ मा राष्ट्रव्यापी कोरोना खोप अभियानको तेस्रो चरण सुरु भएको छ। यो अभियानमा भारतले ४५ वर्षसम्मका मानिसलाई कोरोनाविरुद्धको खोप लगाउँदैछ। आगामी अगस्टसम्ममा ३० करोड नागरिकलाई खोप लगाउने भारतको योजना छ।
- मुरली कृष्णन / https://www.dw.com