काठमाडौं- नेपाली कांग्रेसले क्रियाशील सदस्यता बुझाउने म्याद थप गर्ने निर्णय गरेको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यता बुझाउने म्याद थप गरेको हो।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यताको सूची क्षेत्रीय कार्यसमितिले प्रकाशित गरी जिल्ला कार्यसमितिमा र केन्द्रमा पठाउने अवधि चैत्र ३० गतेसम्मका लागि थप गरिएको हो।
यस्तै, नयाँ क्रियाशील सदस्यता वितरणका लागि जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा परेका उजुरीमाथि छानबिन गरी निर्णय गर्ने र निर्णयअनुसारको सूची प्रकाशित गरी केन्द्रमा पठाउनुपर्ने अवधि वैशाख १० सम्म थपिएको छ।
यसअघि चैत १० गतेभित्र क्रियाशील सदस्यको विवरण केन्द्रमा बुझाउने म्याद तोकिएको थियो। तर उक्त समयभित्र सबै जिल्लाबाट क्रियाशील सदस्यको विवरण प्राप्त हुन नसकेपछि म्याद थप गर्ने निर्णय गरिएको पौडेलले बताए।
यस्तै, केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि जेठ १७ लाई तोकेको छ।
बैठकले अन्य राजनीतिक दलबाट पार्टी प्रवेश गरेकाहरूको समायोजन समेत टुंग्याएको छ। अन्य राजनीतिक दल समायोजन समितिका संयोजक उपसभापति विमलेन्द्र निधिले बैठकमा प्रस्तुत गरेको प्रस्ताव पारित भएसँगै समायोजनको काम सकिएको छ।
बैठकले नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले समितिको संयोजक पदबाट दिएको राजीनामा स्वीकृत गर्ने निर्णय पनि गरेको छ। कांग्रेसको अर्को बैठक चैत्र २७ बस्ने भएको छ।