बुटवल- लुम्बिनी प्रदेशसभामा सत्ता पक्षकै सांसदहरुबीच आरोप-प्रत्यारोप भएको छ।
शुक्रबार बसेको प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै हालसम्म सत्ता पक्षकै हैसियतमा रहेका नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य इन्द्रप्रसाद खरेलले बर्तमान सरकार नेपालको इतिहासमै सबैभन्दा भ्रष्ट भएको आरोप लगाएपछि नेकपा एमालेका प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले प्रतिवाद गरे।
खरेलले प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्नुको सट्टा भ्रष्टाचारी र कमिशनखोरलाई पुरस्कृत गरेर भ्रष्टाचार बढाएको आरोप लगाए।
प्रधानमन्त्री ओलीले नेपालको विकास देखेर अन्तर्राष्ट्रिय समुदाय दंग परे पनि भन्ने अर्कोतर्फ काम गर्न नदिएकाले संसद विघटन गरेको भनेर जनतालाई भ्रममा पारेको भन्दै उनले विरोध गरे।
नेपाली जनताले नेपालका कम्युनिष्ट पार्टीहरु मिल भनेर दिएको विश्वासमाथि प्रधानमन्त्री ओलीले जनमतको अपमान गरेर संसद विघटन गरेको उनको खरेलको आरोप छ।
नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले भने संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम र नेकपाको विवादमा अध्यक्ष ओलीले अवलम्वन गरेको भूमिकाको बचाउ गर्दै नाम नलिइकन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कालो सूचीमापरेको ठेकेदारको घरमा बसेकोमा विरोध जनाए।
बैठकमा सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन पेश गर्दै समितिका सभापति डिल्लीबहादुर चौधरीले प्रदेश सरकारको बेरुजु बढेको भन्दै बेरुजु फस्र्यौट गर्न सरकारको ध्यानाकर्षण गराए।
प्रदेशका मन्त्रालयमध्ये भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सबैभन्दा बेथिति र अनियमितता रहेको र दोस्रोमा भौतिक पूर्वाधार विकास मन्त्रालयमा बेथिति रहेको बताए।
बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खान, प्रदेशसभा सदस्यहरु रमा अर्याल, दीपेश थारु, विजय बहादुर यादव, सन्तोष कुमार पाण्डेय र कमलादेवी बिकले विशेष समय लिएर समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।
बैठकमा कृषि, वन तथा वातावरण समितिका सभापति विजय बहादुर यादव, अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपाने र भौतिक पूर्वाधार विकास समितिका सभापति आशा स्वर्णकारले आ–आफ्नो समितिका वार्षिक प्रतिवेदन पेश गरेका थिए।
बैठकले ‘प्रदेश विश्वविद्यालयको स्थापना, सञ्चालन, नियमन र व्यवस्थापन गर्न बनेको विधेयक’ पारित गरेको छ।