काठमाडौं- मोटरसाइकल चोरी गर्ने एक जनालाई ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ। शुक्रबार महाशाखाको टोलीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा साँगाचोकगढी-६ सिन्धुपाल्चोकका श्रीजर सेन्चुरी छन्। उनलाई सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले काठमाडौंको शंखरापुर नगरपालिका–६, साँखुबाट नियन्त्रणमा लिएको हो।
वास्तविक नम्बर परिवर्तन गरी बा ९५ प ७९७६ नम्बरको रातो रङ्गको एनएस पल्सर मोटरसाइकल चलाइरहेको अवस्थामा उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए। उक्त मोटरसाइकलको वास्तविक नम्बर बा ९१ प १२२१ रहेको खुल्न आएको छ।
उक्त पक्राउ भएका मोटरसाइकल पुस १४ गते कोटेश्वर भाटभटेनीबाट हराएको थियो।
पक्राउ परेका सेन्चुरीलाई मोटरसाइकलसहित चोरी मुद्दाका अनुसन्धान गरी कारबाहीको प्रक्रिया अघि बढाइएको छ। उनलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा पठाइएको महाशाखाले जनाएको छ।