काठमाडौं- नेपाली कांग्रेसमा सरकारको नेतृत्व लिने विषयमा तीव्र मतभेद देखिएको छ। शुक्रबार सुरु हुने भनिएको केन्द्रीय कार्यसमितिको बैठक अघि शीर्ष नेताहरूबीच भएको छलफलमा सरकारको नेतृत्व लिन विषयमा तीव्र मतभेद देखिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएपनि विकल्प खोजेर अघि बढ्नुपर्ने धारणा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले राखेको थियो। तर सभापति शेरबहादुर देउवा पक्ष भने प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिएपछि मात्र सरकार निर्माणको बाटो खुल्ने भएकाले तत्काल हतारिने अवस्था नभएको धारणा राखेका थिए।
छलफलमा वरिष्ठ नेता पौडेलले सरकारको नेतृत्व लिन कांग्रेसले ढिलो गर्न नहुने धारणा राखेका थिए। 'सरकारको नेतृत्व लिन अग्रसरता लिनुपर्ने बेला आएको छ। सभापतिजीले यसमा चासो देखाउनु भएको छैन। सभापतिले नेतृत्व लिने भए अग्रसरता लिनु पर्योा होइन भने अर्को व्यक्ति तयार गर्नु पर्योन। अब ओली निरन्तरता हेरेर बस्न सकिन्न,' बैठकमा सहभागी एक केन्द्रीय सदस्यले पौडेललाई उद्धृत गर्दै भने।
तर पौडेलको उक्त धाराणालाई देउवाले भने अस्वीकार गरेका थिए। देउवाले ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिए मात्र कांग्रेसको भूमिका सुरु हुने बताएका थिए। 'ओलीजीले प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको छैन। उहाँले राजीनामा दिएपछि मात्र अरु प्रक्रिया सुरु हुन्छ। त्यसपछि कांग्रेसले अग्रसरता लिन्छ,' सभापति देउवालाई उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने।