काठमाडौं– कोभिड–१९ विरूद्ध सुरक्षित र प्रभावकारी खोपहरूको पहुँच विस्तार गर्न विश्व बैंकले नेपाललाई ७.५ करोड अमेरिकी डलर अर्थात् ८.७ अर्ब नेपाली रुपैयाँ सहयोग गर्ने भएको छ।
शुक्रबार सरकार र विश्व बैंकबीच सो रकम वित्तीय सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरेका थिए।
‘कम्तिमा पनि ७२ प्रतिशत नेपालीलाई खोप दिने सरकारको बृहत् योजनाका लागि यस अतिरिक्त वित्तीय सहयोगले महत्वपूर्ण र समय–सान्दर्भिक सहयोग पुर्याउनेछ,’ हस्ताक्षर कार्यक्रममा अर्थ सचिव ढुंगानाले भने।
गत वर्ष चैतमा विश्व बैंकले २.९ करोड अमेरिकी डलर (३.३ अर्ब नेपाली रूपैँया) बराबरको कोभिड–१९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी आयोजनामै वित्त सहयोग गरेको थियो।
यस अतिरिक्त वित्त सहयोगको ९० प्रतिशत हिस्साले कोभिड–१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको खरिद, आपूर्ति र वितरणलाई सघाउनेछ। बाँकी रकमले कोभिड–१९ संक्रमणको परिक्षण, पहिचान र उपचारका लागि विद्यमान जनस्वास्थ्यका उपायहरूलाई टेवा दिनेछ।