काठमाडौं- नेपाली कांग्रेसको आगामी १४ औँ महाधिवेशनको कार्यतालिका फेरबदल हुने भएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज (शुक्रबार) बस्ने केन्द्रीय कार्य समिति बैठकमा महाधिवेशन कार्यतालिका हेरफेरसम्बन्धी प्रस्तावमा छलफल गर्न लागिएको छ।
महाधिवेशन कार्यतालिका हेरफेर तथा समसामयिक राजनीतिक विषयमा छुट्टाछुट्टै छलफलहरु भएपछि २ बजेका लागि बोलाइएको बैठक अबेरसम्म बस्न सकेको छैन।
बैठकअघि सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छुट्टै छलफल गरेका छन्।
पौडेलसँग महाधिवेशनको कार्यतालिका हेरफेरलगायत समसामयिक राजनीतिबारे छलफल भएको जनाइएको छ।
यस्तै क्रियाशील सदस्यता छानबिन समितिको बैठक पनि बसेको छ। केन्द्रीय कार्य समिति बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिकाे प्रतिवेदन पेश गर्ने तयारी गरेका छन्।
आगामी महाधिवेशन तथा समसामयिक राजनीतिबारे छलफल गर्न कांग्रेसले आजका लागि केन्द्रीय कार्य समिति बैठक बोलाएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए।