काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले केपी ओली एमालेको अवैध अध्यक्ष भएको टिप्पणी गरेका छन्।
एमाले माधव–झलनाथ समूहको स्थायी कमिटी बैठक चलिरहेका बेला सञ्चारकर्मीहरुसँग कुरा गर्दै रावलले केपी ओलीले आफूले आफैंलाई अवैध घोषणा गरेको बताए।
‘एमाले केपी ओलीको पार्टी होइन। उहाँ अवैध अध्यक्ष हो, यो घोषणा उहाँ आफैंले गर्नुभएको हो। पार्टीको विधानअनुसार महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीले गठन गर्ने हो, अध्यक्षले होइन।’
अध्यक्षले एकपछि अर्को अवैधानिक काम गरिरहेको नेता रावलको भनाइ थियो। ‘एमालेको नवौं महाधिवेशबाट पारित विधान, त्यसको सिद्धान्त र नीतिलाई दृढतापूर्वक आत्मसात् गर्दै देशव्यापाी रुपमा संगठन बलियो बनाउने अभियानमा हामी छौं। पार्टीको विधानपविपरीत र सामान्य लोकतान्त्रिक राजनीतिक मान्यताविपरीत उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सुरेन्द्र पाण्डेलाई निलम्बन गरेकोमा हामीले निन्दा र भर्त्सना गरेका छौं। यो कदम ओलीको तानाशाही लाद्ने स्वेच्छाचारी चरित्रको द्योतक हो,’ रावलले भने।
उपाध्यक्ष रावलले थपे, ‘कथित कारबाहीले पार्टीको विधान मिचिएको छ, कम्युनिष्ट आन्दोलनलाई नै लज्जित बनाएको छ।’