काठमाडौं- मेनपावरको नाममा ठगी धन्दा चलाउने सुरज गजुरेललाई प्रहरीले पक्राउ गरेको छ।
भिजिट भिसामा दुबई पठाउने भन्दै ४० जनाभन्दा बढी व्यक्तिसँग जनही १५ हजारदेखि ८ लाखसम्म गरेर २ करोडभन्दा बढी रकम असुलेर फरार भएका गजुरेललाई पीडितको सहयोगमा पक्राउ गर्न प्रहरी सफल भएको हो।
वैदेशिक रोजगारीमा जान चाहनेलाई पर्यटन भिसामा पठाउन परामर्श प्रदान गर्ने भन्दै खोलेको कम्पनीबाटै उनले रोजगारीमा पठाउने भनेर असुली गर्दै आएका थिए।
महाराजगंजमा एक्टिभ इम्प्लोइ सर्भिस प्रालि नामक कम्पनी चलाइरहेका गजुरेल पीडितहरुसँग २ करोडभन्दा बढी रकम उठाएर सम्पर्कबिहीन भएका थिए।
गजुरेल फरार भएपछि पीडित लोकेन्द्र साउँदले वैदेशिक रोजगार विभागमा उजुरी गरेका थिए। उजुरीपछि गजुरेलको कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको थियो। कम्पनीमा छापा मारेलगत्तै गजुरेल फरार भएका थिए।
साउदले आफू ठगीमा परेको भन्दै प्रहरी र वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि गजुरेलले पीडित साउँदकै अपहरणको योजना बनाए।
साउँदको अपहरण
विभागमा दर्ता नगराईकनै वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै बैतडीका लोकेन्द्र साउँदबाट गजुरेलले ३ लाख ६० हजार रुपैयाँ लिएका थिए।
पैसा लिएर ६ महिनासम्म पनि रोजगारीमा नपठाएपछि साउँद पटकपटक कार्यालय धाए तर सञ्चालक भेटिएनन्। आफूलाई लामो समयसम्म झुलाएपछि साउँदले वैदेशिक रोजगार विभागमा उजुरी गरे। उजरीपछि विभागले मेनपावर सञ्चालकलाई पक्राउ पूर्जी जारी गर्यो।
लामो समयदेखि सम्पर्कविहीन सञ्चालक गजुरेलले विभागको पक्राउ पूर्जीपछि साउँदलाई सम्पर्क गरेर विदेश पठाउँछु भन्दै थप १ लाख ५० हजार रुपैयाँ मागे।
त्यसपछि भयो मेनपावर सञ्चालक र साउँदको भेट। पैसा दिन भन्दै चावहिल पुगेका साउँदलाई बुधबार सञ्चालकले चावहिल चोकमा भेट्ने भनेका थिए।
करिब २ घण्टा सञ्चालकले साउँदलाई चोकमै कुराए। योबीचमा साउँदले प्रहरीलाई खबर गरिसकेका थिए।
दुई घण्टा कुराएर आइपुगेका सञ्चालक गजुरेलले साउँदलाई दुई मिनेट परसम्म जानका लागि ट्याक्सीमा आउन आग्रह गरे। ट्याक्सीको व्यवस्था गरियो। अनि साउँदलाई ट्याक्सी चालकले आरुबारी पुर्याए।
साउँद भन्छन्, ‘एक जान भनेर चढेको ट्याक्सी अर्कै ठाउँतिर जाँदा त मार्छन् कि भन्ने डर लागिरहेको थियो। ट्याक्सी चालकलाई पटकपटक रोक्न आग्रह गरे पनि रोकेन, मलाई मार्नकै लागि आरुबारी पुर्याइयो भन्ने लाग्यो।’
आरुबारीमा ट्याक्सी चालकलाई दुई मुक्का दिएर आफू ट्याक्सीबाट झरेको र सोही समयमा प्रहरी पनि आइपुग्दा आफ्नो ज्यान जोगिएको साउँद बताउँछन्।
साउँदका अनुसार ट्याक्सीबाट झरेपछि मेनपावर सञ्चालकसहित अरु केही व्यक्ति बाइकमा त्यहाँ आएका थिए। त्यसैबेला प्रहरी पनि पुगेपछि सञ्चालक गजुरेल र उनका सहयोगी पक्राउ परे।
पक्राउ परेका सञ्चालक गजुरेल र उनका सहयोगीलाई फौजदारी अभियोगमा मुद्दा चलाउने तयारी भएको विभागका महानिर्देशक कुमार प्रसाद दाहालले बताए। यद्यपि विभाग परिसरमै रहेका मेनपावर सञ्चालकका वकिल भने पीडितहरुलाई आश्वासन दिएर पीडकलाई छुटाउन लागीपरेका थिए।
साउँदकै अर्का एकजना साथीलाई पनि गजुरेलको मेनपावरले ९ लाख रुपैयाँ ठगेको खुलेको छ।
विभागमा उजुरी गरेपछि विभागले गरेको स्टिङ अप्रेसनबाट सो सञ्चालकले वैदेशिक रोजगारीमा जानेहरुबाट २ करोड रुपैयाँ ठगी गरेको पाइएको छ।
उजुरीपछि प्रहरीले छापा मार्दा उक्त मेनपावरबाट सयौंको संख्यामा राहदानी बरामद भएको विभागले जनाएको छ।
लाेकेन्द्र साउँद