शनिबार, असोज १०, २०८३

सुन आयातको कोटा दोब्बर बनायो राष्ट्र बैंकले

नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक परिमाण दोब्बर बनाएको छ।
 |  बिहीबार, चैत १९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १९, २०७७

काठमाडौं– नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक परिमाण दोब्बर बनाएको छ।

केन्द्रीय बैंकले आज बिहीबार टक्सार महाशाखा तथा सुन आयातको इजाजत पाएका ‘क’ वर्गका वाणिज्य बैंकहरुलाई निर्देशन जारी गर्दै दैनिक २० किलो सुन ल्याउन अनुमति दिएको हो। यसअघि दैनिक १० किलो सुनमात्र आयात हुने गरेको थियो। 

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्था विभागका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा १२ को अधिकार प्रयोग गरी राष्ट्र बैंकले सो निर्देशन जारी गरेको हो। 

नेपालमा केन्द्रीय बैंकको टक्सार विभाग र ‘क’ वर्गका वाणिज्य बैंकहरुले मात्र सुन आयात गर्न पाउँछन्। वाणिज्य बैंकहरुमा कुन बैंकले कहिले सुन ल्याउने भन्ने व्यवस्थापन भने नेपाल बैंकर्स संघले मिलाउने गरेको छ। बैंकहरुले सुन आयात गरेर व्यवसायीहरुलाई बिक्री गर्ने गरेका छन्।

केही महिनादेखि नेपाल सुनचाँदी व्यवसायी महासंघले पटकपटक राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर सुनको आयात परिमाण बढाउन माग गरेको थियो।

नेपालमा सामान्य समयमा पनि सुनको माग दैनिक कम्तीमा २० देखि ३० किलो हुने गरेको महासंघले जनाएको छ। 

प्रकाशित: Apr 01, 2021| 12:13 बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्