काठमाडौं– नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ।
माओवादी केन्द्रको स्थायी कमिटीको अनौपचारिक बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले विद्यमान राजनीतिक परिस्थितिबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायतका दलले स्पष्ट निर्णय नगरेकाले तत्काल फिर्ता नलिने बताएका हुन्।
उनले भने, ‘यो सरकारलाई हाम्रो समर्थन छैन। हामीले प्राविधिक रूपमा समर्थन छैन भनेर चिठी लेखेका छैनौं। यसले अरू प्रक्रिया अघि बढाउन रोक्दैन।’
उनले नयाँ सरकार गठनबारे अन्य दलसँग छलफल जारी रहेको बताए। उनले भने, ‘हामी ओली सरकारलाई विस्थापित गर्न चाहन्छौं, हामी यो संसद्लाई पूरा अवधि क्रियाशील बनाउन चाहन्छौं।’ यसै कारण सबै दलसँग छलफल भइरहेको उनको भनाइ छ।
उनले अन्य पार्टीले निर्णय नगरे पनि माओवादी केन्द्र अनिर्णयको बन्दी नबन्ने प्रस्ट पारे। उनले ओली सरकार कायमै राख्ने वा नराख्ने भन्नेमा निर्णय गर्न नेपाली कांग्रेस र जसपालाई अपिल गरे।
उनले प्रमुख प्रतिपक्षी दलले प्रस्ट निर्णय गरेर आउने विश्वास व्यक्त गरे। उनले सरकारलाई दिएको समर्थन फिर्ता लिन परिस्थिति अझै सहज नभएको बताए।
श्रेष्ठले भने, ‘वार्ताका क्रममा अन्य दलका नेताहरूले कसरी अघि बढ्ने भन्ने विषयमा निर्क्याेल गर्न केही समय माग्नुभएको छ।’
माओवादी केन्द्रले पनि स्थायी कमिटी बैठक बसेर त्यसबारे निर्णय गर्ने उनको भनाइ छ। उनले सबै दललाई आफ्न कुरा प्रस्ट ल्याउन आग्रह गरे।
प्रवक्ता श्रेष्ठले कुनै दललाई केपी ओली नेतृत्वको सरकार जान इच्छा भए आफ्नो पार्टीले नरोक्ने बताए।
श्रेष्ठले भने, ‘यो प्रतिगामी कदम चाल्ने सरकार नैतिक रूपमा पनि सर्वोच्चको निर्णयपछि जानुपर्दथ्यो। यस्तो स्थितिमा पनि बसिरहेको छ। प्रमुख प्रतिपक्षी दलगायत जसले प्रतिनिधिसभा विघटनलाई असंवैधिानक मिलेर संघर्ष गरेका थियौं, ती शक्ति मिलेर सरकार बनाउन पहल गरिरहेका छौं।’
बैठकमा सांगठनिक प्रक्रिया कसरी देशव्यापी रूपमा कसरी लैजाने, राष्ट्रिय प्रशिक्षण, भेला वा सम्मेलन के गर्ने भन्ने विषयमा प्रारम्भिक छलफल भएको छ।
उनले भने, ‘स्थगित केन्द्रीय कमिटीको बैठक राष्ट्रिय भेला वा सम्मेलन गर्ने निर्णय स्थायी कमिटी बैठकले टुंगो लगाउनेछ।’