काठमाडौं– एमाले माधव नेपाल–झलनाथ खनाल समूहले कास्कीमा समानान्तर कमिटी गठन गरेको छ।
विभिन्न भ्रातृसंगठनमा समानान्तर कमिटी गठन गर्दै आएको नेपाल–खनाल समूहले पहिलोपटक कास्की जिल्लाबाट पार्टीको समानान्तर कमिटी गठन गरेको हो।
एमाले केन्द्रीय सदस्य दिलकुमारी पन्तले कास्कीमा ७५ सदस्यीय जिल्ला कमिटी गठन भएको जानकारी दिइन्। उनका अनुसार जिल्ला कमिटीको अध्यक्षमा धनराज आचार्य र सचिवमा होमबहादुर नेपालीलाई चयन गरिएको छ।
गण्डकी प्रदेशमा एमाले अध्यक्ष केपी ओलीको पकड रहेको मानिन्छ। प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ ओली समूहकै हुन्।
ओली समूहको पकड मानिएको गण्डकी प्रदेशबाटै माधव नेपालले अभियान थाल्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। गण्डकीका ११ जिल्लामध्ये बागलुङ र गोर्खामा ओली समूह कमजोर छ।
६० सदस्यीय प्रदेशसभामा एमालेको २७ सिटमध्ये नेपाल समूहका १ जनामात्र सांसद छन्। बागलुङका इन्द्रलाल सापकोटा नेपाल समूहका एक्ला सांसद हुन्।
पृथ्वीनारायण क्याम्पसका पूर्व स्ववियु सभापति आचार्य दिवंगत नेता रवीन्द्र अधिकारी समकक्षी मानिन्छन्। अधिकारीका सहपाठी उनी रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानका अध्यक्ष हुन् । रवीन्द्र पत्नी विद्या भट्टराई उपचुनाव लड्दा धनराज चुनावी कमान्डर थिए।