आइतबार, भदौ १४, २०८३

बैतडीमा फलाम खानीको विस्तृत अध्ययन हुँदै

खानी तथा भूगर्भ विभागले बैतडीमा फलाम खानीको विस्तृत अध्ययन सुरु गरेको छ।
 |  बुधबार, चैत १८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत १८, २०७७

काठमाडौं- खानी तथा भूगर्भ विभागले बैतडीमा फलाम खानीको विस्तृत अध्ययन सुरु गरेको छ।

विभागले खोजतलासका लागि सुभम मिनिरल्स प्राइभेट कम्पनीलाई अनुमति दिएर विस्तृत अध्ययन सुरु गरेको हो। खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक जयराज घिमिरेले सुभम मिनिरल्स प्राइभेट कम्पनीले बैतडीको सिगास गाउँपालिकामा रहेको फलाम खानीको विस्तृत अध्ययन अगाडि बढाएको जानकारी दिए।

‘फलाम खोज तलास अन्वेषणका लागि एउटा प्राइभेट लाइसेन्स दिएको हो’ घिमिरेले भने, ‘उहाँहरुले एक चरणको काम गरेको रिपोर्ट चाँहि दिनुभएको छ हामीलाई।’ प्रारम्भिक रिपोर्टअनुसार फलामको राम्रो सम्भावना देखिएको घिमिरेले बताए।

प्रारम्भिक रिपोर्टअनुसार १० लाख टन फलाम हुनसक्ने अनुमान गरिएको घिमिरेको भनाइ छ। ‘प्रारम्भिक रिपोर्टमा देखिएअनुसार परिमाण चाँहि त्यति धेरै ठूलो  होइन’ घिमिरेले भने, ‘१० लाख टन हुनसक्ने अनुमान रिपोर्टमा छ।’

अहिले अध्ययनकर्ता कम्पनीले २ किलोमिटर क्षेत्रमा फलाम रहेको नरहेको हेरिरहेको छ। बिस्तृत रिपोर्ट आउनलाई कम्तीमा दुई वर्ष लाग्ने खानी तथा भूगर्भ विभागले जनाएको छ। अहिले अध्ययन गरिरहेको कम्पनीले बिस्तृत प्रतिवेदन बुझाएपछि खानी विभागका अधिकारीहरु बैतडी पुगी थप अध्ययन गर्नेछन्। त्यसपछि मात्रै उत्खनन्को लागि बाँकी प्रक्रिया अगाडि बढ्ने उपमहानिर्देशक घिमिरे बताउँछन्।

फलाम खानी बैतडीको सिगास गाउँपालिकाको वडा नम्बर १ को सुङरखालमा छ। सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले प्रारम्भिक अध्ययन पुरा भएपछि खानी विभागको सहकार्यमा सुभम प्राइभेट लिमिटेडले बिस्तृत अध्ययन सुरु गरेको बताए। ‘नेपाल सरकार खानी विभागबाट अनुमति लिएर ठेकेदार कम्पनीले अध्ययन गरिरहेको छ। सरकारले प्राइभेट कम्पनी र चिनियाँ कम्पनीलाई संयुक्त रुपमा अध्ययन गर्न पठाएको हो’ अध्यक्ष धामीले भने।

धामीका अनुसार फलाम खानी रहेको भनिएको क्षेत्रमा पुग्न बिन्द्रा वन (मूख्य सडक) बाट सडक निर्माणको काम भइरहेको छ।

दैलेखमा आउने भनेको चिनियाँ टोलीको टुङ्गो छैन

दैलेखमा रहेको पेट्रोलियम खानीको पहिलो चरणको अध्ययनको काम चिनियाँ अन्वेषण टोलीले गरेको थियो।

पहिलो चरणमा सर्फेस स्टडी, स्याम्पलिङलगायतका काम चिनियाँ टोलीले गरेको थियो। सर्फेस स्टडी सन्तोषजनक देखिएकाले अर्को चरणको कामका लागि यही चैत तेस्रो साता (अप्रिल पहिलो साता) चिनियाँ टोली फेरि नेपाल आउने तय यसअघि नै गरिएको थियो।

तर, पछिल्लो समय दैलेखको पेट्रोलियम अन्वेषणका लागि चिनियाँ टोली आउने टुङ्गो नरहेको खानी तथा भूगर्भ विभागले जानकारी दिएको छ। ‘यसअघि अप्रिल पहिलो साता आउने तय थियो’ उपमहानिर्देशक घिमिरेले भने, ‘पहिले तय भएअनुसार आउने बेला भइसके पनि पछिल्लो समय केही खबर आएको छैन।’

यसअघि चिनियाँ टोलीले पहिलो चरणमा सर्फेस स्टडीलगायतका काम सकेर पेट्रोलियमको थप अन्वेषण गर्न ४ हजार मिटर क्षेत्रफलमा ड्रिलिङ गर्नुपर्ने निष्कर्ष निकालेको थियो।

उक्त ड्रिलिङपछि नमुना परिक्षण गरिने र त्यसपछि मात्रै व्यवसायिक उत्पादनका लागि बाँकी प्रक्रिया अगाडि बढाइने खानी तथा भूगर्भ विभागको भनाइ छ।

प्रकाशित: Mar 31, 2021| 14:32 बुधबार, चैत १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।