विराटनगर– प्रदेश १ सरकारले नेपाली कोदोको मदिरा (लोकल रक्सी) लाई ब्रान्डिङ गर्ने भएको छ।
ब्रान्डिङका लागि कानूनी र व्यवहारिक पक्षको अध्ययन गरिने सामाजिक विकास मन्त्री उषाकला राईले बताइन्। नेपाली कोदोको रक्सीलाई ब्रान्डिङ गरेर विदेश निर्यात गरी आर्थिक उपार्जन गर्न सकिने उनको भनाइ छ। मन्त्रालयको पदभार ग्रहण गरेको ६ दिनपछि बुधबार पत्रकार सम्मेलन गर्दै उनले कोदोको रक्सीलाई ब्रान्डिङ गरिने बताइन्।
मन्त्री राईले यसका लागि आफूले पहिलेदेखि नै भन्दै आएको बताइन्। प्रधानमन्त्री केपी शर्मा ओली तथा मुख्यमन्त्री शेरधन राईसँग पनि छलफल गरेको उनको भनाइ छ। मन्त्री राईले पत्रकार सम्मेलनमा आगामी आगामी प्राथमिकता र कार्यक्रम पनि सार्वजनिक गरेकी छन्।
दोस्रो चरणको कोरोना संक्रमण बढ्ने सम्भावनालाई ध्यानमा राखी कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई पुन: सञ्चालनको तयारी गरिएको उनले बताइन्। मन्त्री राईले प्रदेशमा यसअघि कोरोना उपचारमा संलग्न अस्पताललाई तयारी अवस्थामा रहन आग्रह समेत गरिन्।
उनले सबै जिल्ला अस्पतालहरुलाई कम्तीमा १० बेडसम्म कोभिड आइसोलेसन वार्ड तयार गरी उपचारको व्यवस्थापनका लागि निर्देशन दिइने बताइन्। उनले स्वास्थ्य बीमा कार्यक्रमले नसमेटेका र पैसाको अभावमा उपचार गर्न नसक्ने गरिब जनताका लागि आवश्यक कार्यविधि र मापदण्ड बनाएर लागू गरिने बताइन्।
उनले विद्यालय शिक्षाको गुणस्तरमा सुधार गर्न भौतिक पूर्वाधार निर्माण, विस्तार तथा जनशक्तिको क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने बताइन्। मन्त्री राईले महिलाको सुरक्षाको सवालमा अन्तरमन्त्रालय समन्वय गरी विशेष ध्यान दिइने बताएकी छन्।
प्रदेशस्तरमा सञ्चालित जेष्ठ नागरिक लक्षित दन्त उपहार तथा आँखा उपचार कार्यक्रम सञ्चालनका लागि योजना बनाएर लाग गरिने उनको भनाइ छ।
स्थानीय तह, प्रदेश सरकार र सामाजिक विकास संस्थासँगको सहकार्यमा सडक आश्रित, सहयोगापेक्षी मानवमुक्त प्रदेश निर्माण कार्यलाई निरन्तरता दिइने सामाजिक विकास मन्त्री राईले बताइन्। उनका अनुसार प्रदेश खेलकुद बोर्ड र जिल्ला खेलकुद विकास समितिहरु चाडै गठन गरिने छ।
सामाजिक विकास मन्त्रालयबाट सम्पादन गर्नुपर्ने कार्यहरुलाई आवश्यक पर्ने ऐन, नियमावली, कार्यविधि आदिको तर्जुमा गर्ने र विद्यमान कानूनहरुको समयानुकुल संशोधन गरिँदै लगिने उनले बताइन्।