काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले खेल पत्रकारको स्तरवृद्धि गर्न एकेडेमीको सुरुवात गरेको छ।
एनएसजेएफले काठमाडौंमा बुधबार एक कायक्रम गर्दै एकेडेमीको उद्घाटन गरेको हो।
पछिल्लो समयमा देभभर नै सञ्चार संस्थाहरुको वृद्धि भएर समाचारको संख्या बढे पनि समाचारको गुणस्तरमा वृद्धि नभएको कुरालाई मध्यजनर गर्दै मञ्चले एकेडेमी सञ्चालन गर्न लागेको हो। मञ्चले खेलकुद पत्रकारलाई तालिम, अनुसन्धान र मेन्टरसिपको प्रशिक्षण दिने उद्देश्यका साथ एकेडेमीको औपचारिक सुरुवात गरिएको जनाएको छ।
खेलकुद पत्रकारको साझा संस्था मञ्चले पत्रकारको व्यवसायिक क्षमताको अभिवृद्धि एकेडेमीमार्फत् सञ्चालन गर्ने परियोजना सार्वजनिक गरेको हो।
तालिम, अनुसन्धान र खेलको अभिलेखलाई एकेडेमीमार्फत् काम गर्ने मञ्चको योजना रहेको एकेडेमीका संयोजक निरन्जन अधिकारी बताउँछन्। त्यस्तै, मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले खेल पत्रकारको व्यवसायिक वृद्धि विकासका लागि एकेडेमी फलदायी हुने बताए।
उनले एकेडेमी मुख्य तीन विषय तालिम, अनुसन्धान र मेन्टरसिपमा केन्द्रित हुने धारणा राखे। ‘सरकार र खेलकुदका सरोकारवाला निकायको सहयोगबिना एकेडेमीको काम अघि बढाउन कठिन छ। एकेडेमीले खेलकुद क्षेत्रको विकासका लागि महत्वपुर्ण भुमिका खेल्नेछ,’ उनले भने।
युवा तथा खेलकुद मन्त्री दावा तामाङले एकेडेमीमार्फत् गुणात्मक जनशक्ति विकास हुने विश्वास व्यक्त गरेका छन्।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले खेललाई विकास गर्न खेल पत्रकारको दक्षतासमेत अभिवृद्धि गर्नुपर्ने बताए। ‘धेरै खेलको रिपोर्टिङ भएको छैन। समाचारमा खेलको विस्तृत विश्लेषण हुँदैन। अब एकेडेमीले समग्रतामा सिंगो खेलकुदलाई मद्दत गर्न राम्रो भूमिका खेल्नुपर्छ,’ उनले भने।
राखेप सदस्य सचिव रमेशकुमार सिलवालले खेलकुदको विधामा पत्रकारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे। खेल पत्रकारले मात्र खेलकुदको समाचार बुझ्ने उल्लेख गर्दै सदस्य सचिव सिलवालले खेलकुदका संघले पत्रकारलाई प्राविधिक कुरा बुझाउन जरुरी रहेको बताए।
एनएसजेएफका महासचिव प्रज्वल ओलीले खेलकुद विकासमा खेल पत्रकारको दक्षता अभिवृद्धिको विषयले भूमिका खेल्ने धारणा राखे।
खेलकुद क्षेत्रको सम्मानका लागि हरेक वर्ष स्पोर्ट्स अवार्ड आयोजना गर्दै आएको मञ्चले खेलकुद पत्रकारको क्षमता वृद्धि विकासका लागि एकेडेमी सञ्चालनमा ल्याएको हो।
मञ्चले काठमाडौं र देशभरी गर्दै आएको प्रशिक्षण तथा अनुसन्धानका कार्यक्रमलाई एकेडेमीअन्तर्गत राखेर सञ्चालन गर्ने योजना सार्वजनिक गरेको हो।