जनकपुरधाम- सर्लाहीमा एक युवकको हत्या भएको घटनामा दुईजनालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ।
सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर १० का २५ वर्षीय सुशील कुमार यादवको घाँटी रेटेर हत्या गरेको आरोपमा प्रहरीले दुवैजनलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरु मामा–भान्जा हुन्।
प्रहरीले मलंगवा नगरपालिका वडा नं. १० का ४५ वर्षीय विमलकान्त पाठक र भारतको विहारस्थित सितामढी जिल्लाका ४१ वर्षीय अशोक झालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।
गत चैत १२ गते बुधबार मृतक सुशीलको शव मलंगवा नगरपालिका– ९ स्थित पचगछिया चौरीमा रहेको नागेश्वर रायको खेतमा टाउको काटेको अवस्थामा फेला परेको थियो। सोही दिन प्रहरीले मामा विमलेन्द्र पाठक र भान्जा अशोक झालाई पक्राउ गरेको थियो।
सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले मृतक सुशील र हत्या गर्ने विमलकान्त पाठकबीच विवाद भएको पाइएको बताए। करिब ६ महिना पहिला विमलकान्त पाठकको घरमा चोरी भएको थियो। उक्त चोरीका विषयमा उनीहरुबीच पटकपटक विवाद हुँदै आएको पाइएको छ।
प्रहरी उपरीक्षक राठौरले भने, ‘तिनीहरुबीच पटकपटक विवाद हुन्थ्यो, विवादकै क्रममा सुशील कुमार यादवले आफूलाई नै मार्न सक्ने डरले विमलकान्त पाठकले योजना बनाई भान्जासँग मिलेर मार्ने योजना बनाएको थियो।’
घटनाको केही दिन पहिला पनि विमलकान्त पाठकको घर अगाडिबाट पानी तान्ने मोटर तथा जुत्ता चोरी भएको थियो।
अनुसन्धानको क्रममा अभियुक्त मामा–भान्जाले सुशीललाई लागुऔषध अत्यधिक सेवन गराई हत्या गरेको खुलेको प्रहरी उपरीक्षक राठौरले बताए। उनले भने, ‘घटना भएको दिन चैत ११ गते बेलुका करिब ८ बजे विमलकान्त पाठक र निजको भान्जा अशोक झाले मलंगवा नगरपालिका वडा नम्बर १० स्थित होटेलमा रक्सी, मासु र चना खाएका थिए।
‘त्यहाँबाट निस्केपछि मृतक सुशील साइकल चढेर आउँदै गरेकोमा प्रतिवादीहरुले सुशीललाई तिमीसँग काम पनि छ, गाँजा पनि खानु पर्छ जाउँ भनेर आफ्नो घर लगेका थिए’, राठौरले भने, ‘तीनै जना विमलकान्त पाठकको घरमा सवा ९ बजे पुगेर विमलकान्त र मृतक सुशीलले लागू औषध नाईट्राभेट ट्याब्लेट सेवन गरेको थिए भने पुनः तीनै जनाले गाँजासमेत सेवन गरेको पाइयो।’
पक्राउ परेका मामा–भान्जाले सुशीललाई घरमा खाना खुवाएर विमलकान्तको श्रीमती लगायतका अन्य घर परिवारका सदस्यहरु आ–आफ्नो कोठामा सुत्न गएपछि पुनः सँगै बसी गाँजा तथा अन्य लागू औषधहरु सेवन गर्ने क्रममा योजना बनाएको खुलेको प्रहरी उपरीक्षक राठौरले बताए।
मामा–भान्जाले सुशीललाई लागू औषध गाँजा तथा ट्याब्लेटहरु सेवन गराई अचेत पारेर डोरीले हात खुट्टा र जिउ बाँधेर तथा आवाज नआउनकोे लागि मुखमा तौलिया हालेर हतियार सहित घटनास्थलमा लगेको अनुसन्धानको क्रममा खुलेको छ।
विमलकान्तले आफ्नो घरभन्दा करिब ४/५ सय मिटर पूर्व लगेर सुशीलको घाँटी रेटी हत्या गरेका थिए।
पक्राउ परेकामध्ये मामा विमलकान्त २०६९ साल भदौ १२ गते लागू औषध नाईट्राभेट ९ ट्याब्लेट र कोरेक्स १ बोतलसहित पक्राउ परेका थिए। अनुसन्धानपछि उनी २०६९ असोज १४ गते २ हजार ५०० रुपैया धरौटी राखी तारिखमा छुटेका थिए।