आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • केन्द्रमा आइपुगेन कांग्रेस क्रियाशील सदस्यको विवरण, ६ जिल्लाले काम थाल्नै बाँकी

केन्द्रमा आइपुगेन कांग्रेस क्रियाशील सदस्यको विवरण, ६ जिल्लाले काम थाल्नै बाँकी

नेपाली कांग्रेसले क्रियाशील सदस्यको विवरण केन्द्रलाई बुझाउने म्याद थप गर्ने तयारी गरेको छ।
 |  बुधबार, चैत १८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत १८, २०७७

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यको विवरण केन्द्रलाई बुझाउने म्याद थप गर्ने तयारी गरेको छ। तोकिएको समयभित्र क्रियाशील सदस्यताको विवरण केन्द्रमा प्राप्त हुन नसकेपछि म्याद थप्न लागिएको हो।

कांग्रेसले एउटामात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको समयसीमा फागुन २८ लाई तोकेको थियो। एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाले नाम पठाउने अवधि भने चैत १० गतेसम्म थियो।

तर, म्याद गुज्रिएको लामो समय बितिसक्दा समेत ७१ जिल्लाले मात्रै क्रियाशील सदस्यताको विवरण सफ्टवेयरमा इन्ट्री गर्न थालेका छन्। जसका कारण चैत मसान्तसम्म म्याद थप्ने तयारी भइरहेको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सदस्य प्रदीप पौडेलले जानकारी दिए।

हालसम्म ६ जिल्लाले हालसम्म विवरण भर्न थालेका छैनन्। केही जिल्लामा सदस्यता फर्मसमेत वितरण हुन सकेको छैन।

‘अहिलेसम्म ४ लाख ७६ हजार आसपासमा विवरण इन्ट्री भएको छ। ७१ जिल्लाका ३२४ जना युजरले काम गरिरहनुभएको छ। १५१ सबडोमेन एक्टिभ हुँदा ५६ सबडोमेन निष्क्रिय छन्,’ केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुलीले भने।

कांग्रेसले १४ औं महाधिवेशनमा नयाँ र पुराना गरी १० लाख क्रियाशील सदस्य बनाउने लक्ष्य राखेको छ। तर, हालसम्म आधाको मात्रै विवरण भर्ने काम भएको छ। कांग्रेसले यो पटक सफ्टवेयर प्रणालीको विकास गरेर क्रियाशील सदस्यको विवरण भर्ने व्यवस्था मिलाएको छ। नयाँ सदस्यको नाम ‘इन्ट्री’ गर्ने अधिकार क्षेत्रीय कार्यसमितिलाई छ। यस्तै नवीकरणको अधिकार जिल्ला कार्यसमितिलाई दिइएको छ।

बाँकी ६ जिल्लामा क्रियाशील सदस्यता वितरण र भौगोलिक समायोजनमा देखिएको विवादका कारण क्रियाशील सदस्यता इन्ट्री गर्ने काम हुन नसकेको हो। सोलुखुम्बु, सिन्धुपाल्चोक, सिरहा, सप्तरी, डोल्पा र धनुषाले हालसम्म क्रियाशील सदस्यता इन्ट्री गर्ने काम थालेका छैनन्। सिन्धुपाल्चोक र सप्तरीमा क्रियाशील सदस्यता फर्मसमेत वितरण हुन सकेको छैन। 

कांग्रेसले प्रारम्भिक छानबिन गरी निर्णय गर्ने र निर्णयअनुसारको सूची केन्द्रमा चैत मसान्तसम्म पठाउने समयसीमा तोकेको थियो। तर, चैत मसान्तसम्म क्रियाशीलको विवरण भर्ने काम नै नसकिने स्थिति देखिएको छ।

‘क्रियाशील सदस्यको विवरण भर्ने म्याद चैत मसान्तसम्म थप हुन सक्छ। सबै जिल्लाबाट डाटा इन्ट्री भएर प्रारम्भिक छानबिनको काम सकिएपछि मात्रै हाम्रो समितिले छानबिनको काम गर्नेछ,’ पौडेलले भने। क्रियाशीलको काम समयमै नसकिँदा भदौ ७ गते गर्ने भनिएको १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित बन्ने देखिएको छ।

विवादित जिल्लाका सभापति के भन्छन् ?  

विवादित जिल्लामध्ये एक सिन्धुपाल्चोकका सभापति विकास लामा भौगोलिक समायोजनको टुंगो लाग्न नसक्दा क्रियाशील सदस्यताको फर्म वितरण गर्न नसकिएको बताउँछन्।

‘केन्द्रीय निर्वाचन समितिले हाम्रो जिल्लाको भौगोलिक समायोजनको पोको अहिलेसम्म खोलेको छैन। चाँडोभन्दा चाँडो समायोजनको निर्णय गरिदिन आग्रह गरेका छौं,’ लामाले भने, ‘सदस्यता फर्म अहिलेसम्म पाएका छैनौं। तर, हामीले एक खालको तयारी भनेका गरेका छौं। समायोजन सकिएलगत्तै क्रियाशीलको काम फटाफट अघि बढ्छ।’ उनले क्रियाशीलको काम चाँडो सक्न तयारी हालतमा रहेको बताए।

सिन्धुपाल्चोकको जस्तै समस्या भएको अर्को जिल्ला सप्तरी हो। सप्तरीका सभापति दिनेश यादव आफूले भौगोलिक समायोजनका बेला पार्टीले जारी गरेको निर्देशिकाबमोजिम कोही नथप्ने र कोही नहट्नेगरी काम गरे पनि अनावश्यक विवाद झिकिएको दाबी गरे।

‘मैले निर्देशिकाबमोजिम कसैलाई अन्याय नहुने गरी निर्णय गरेको थिएँ। तर, विवाद झिकियो,’ उनले भने, ‘अहिले निर्वाचन समितिले समायोजनको निर्णय गरिदिएको छैन। त्यसैले क्रियाशीलको काम अघि बढ्न सकेन।’

त्रियाशील सदस्यको विवरण इन्ट्री नगरेको अर्को जिल्ला सिरहाका सभापति रामचन्द्र यादवले भने केही दिनमै काम अघि बढ्ने बताए। ‘सबै वडामा फर्म वितरण र भर्ने काम भइरहेको छ। इन्ट्रीको काम केही दिनमै सुरु हुन्छ,’ उनले भने। 

प्रकाशित: Mar 31, 2021| 12:38 बुधबार, चैत १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।