काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको कोरिडर सडक व्यवस्थापनको लागि छुट्टै ट्राफिक प्रहरी टोली खटाउने भएको छ।
महाशाखाले आज एक कार्यक्रमका बीच कोरिडोर सडक व्यवस्थापन टोली परिचालन गरेको हो।
महाशाखाको निरन्तर समन्वय एवम् पहलमा निर्माण भई संचालनमा रहेका उपत्यकाको मुख्य कोरिडोरहरु विष्णुमति, बागमती, धोबीखोला र मनोहरा कोरिडोरको प्रभावकारी व्यवस्थापन गरी अधिकतम् प्रयोगमा ल्याउन योजना लागू गरेको हो।
आजदेखि करिडोरलाई २४ खण्डमा विभाजित गरी कोरिडोर क्लियरेन्सको लागि १७ टोली गठन गरी परिचालन गरेको छ। टोलीले कोरिडोर सडकमा मोटरसाइकलमा निरन्तर अनुगमन गर्नेछ।
महाशाखाले कोरिडोर सडकहरुमा हुने सवारी चाप व्यवस्थापन, सवारी दुर्घटनामा शीघ्र ट्राफिक परिचालन तथा अव्यवस्थित रुपमा हुने पार्किङलाई नियन्त्रण गर्ने मुख्य उद्देश्यसहित छुट्टै डेडिकेटेड टिम परिचालन गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए।
यो टिमले आम सवारी चालकहरुलाई आफ्नो गन्तव्यसम्म पुग्नका लागि छोटो र सहज तरिकाले कोरिडोर सडक प्रयोग गर्न प्रोत्साहनसमेत गर्नेछ। मुख्य सडकको चोक जक्सनको क्युमा बस्नुपर्ने विकल्पको रुपमा कोरिडोर सडक प्रयोग गरी समय तथा ईन्धनको समेत बचत हुने अपेक्षा रहेको एसएसपी भट्टराईले जानकारी दिए।
कोरिडोर सडकको प्रयोगले मुख्य सडकमा हुने सवारी चापमा कमी ल्याउनुको साथै सवारी आवागमन तथा ट्राफिक व्यवस्थापनमा समेत सहजता प्रदान गर्ने महाशाखाको अपेक्षा छ।
टिमले आफ्नो जिम्मेवार ईलाकामा निरन्तर अनुगमन गरी सवारी आवागमनमा सहज बनाई कोरिडोर सडकको सुचारु गर्ने, पुल तथा जक्सनको क्रसिङमा हुने चाप र क्यूलाई व्यवस्थापन गर्ने, जथाभावी पार्किङ गर्ने प्रवृत्तिलाई निरुत्साहित गरी कोरिडोर सडक प्रयोग गर्ने परिपाटीको विकास गरी प्रयोगकर्तालाई प्राथमिकता दिएर व्यवस्थापन गर्ने महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।
टिमले विशेष सक्रियतापूर्वक कोरिडोर व्यवस्थापनमा खटिई जनअपेक्षित प्रभावकारी ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ।