काठमाडौं– सरकारले चीनबाट प्राप्त भएको ८ लाख डोज कोरोना खोप (भेरोसेल) ४० देखि ६० वर्ष उमेर समूहकालाई लगाउने निर्णय गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आज मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पूर्वाधारको हिसाबले अस्पताल छनोट गरी ४० देखि ५९ वर्ष उमेरसम्मका नागरिकलाई खोप दिने तयारी भएको जानकारी दिए।
तर खोप कहिलेबाट सुरु गर्ने भन्ने निर्णय भएको छैन। प्रवक्ता गौतमले राष्ट्रिय खोप सल्लाहकार समितिको परामर्शपछि चिनियाँ खोपबारे थप निर्णय लिइने बताए। चीनबाट प्राप्त खोप करिब ४ लाखलाई दिने मन्त्रालयको योजना छ।
यसअघि भारत सरकारले अनुदानमा दिएको १० डोज कोभिसिल्ड र कोभ्याक्स सुविधाको ३ लाख ४८ हजार डोज कोभिसिल्ड प्रयोग भइसकेको छ भने सरकारले थप १० लाख डोज कोभिसिल्ड भारतबाट खरिद गरिसकेको छ।