काठमाडौं- निर्वाचन आयोगले सातवटै प्रदेशमा प्रदेशस्तरीय निर्वाचन कार्यालयहरू स्थापना गरेको छ।
भर्चुअल माध्यमबाट प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश निर्वाचन कार्यालयहरूको उद्घाटन गरेका छन्।
गत माघ २६ को मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेश कार्यालयहरुको उद्घाटन गरिएको हो।
निर्वाचन आयोगअन्तर्गत सातवटै प्रदेशमा प्रदेश निर्वाचन कार्यालय रहने गरी संगठन संरचना स्वीकृत भएको थियो।
निर्वाचन आयोग ऐन, २०७३ को दफा १६ मा निर्वाचन आयोग आफैँले सम्पादन गर्नुपर्ने कामका लागि आवश्यकताअनुसार प्रदेश तथा तोकिएबमोजिमको अन्य स्थानमा कार्यालय स्थापना गर्न सक्ने व्यवस्था छ।
सोही व्यवस्थाबमोजिम आयोगले गरेको सिफारिसका आधारमा प्रदेश राजधानी रहेका मोरङ, धनुषा, मकवानपुर, कास्की, दाङ, सुर्खेत र कैलाली जिल्लामा साविकका जिल्ला निर्वाचन कार्यालय खारेज भई आयोगको प्रादेशिक कार्यालयको रुपमा नेपाल प्रशासन सेवा, राजपत्रांकित द्वितीय श्रेणीका उप–सचिवको नेतृत्वमा ९ जना कर्मचारीहरु रहने गरी प्रदेश निर्वाचन कार्यालयको स्थापना गरिएको हो।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगलाई नेपालको संविधानबमोजिम संघीय ढाँचा अनुकूल बनाउन र आयोगका काम कारबाहीलाई थप प्रभावकारी बनाउन प्रदेशस्तरमा कार्यालय स्थापना गरिएको जानकारी दिए।
‘आगामी दिनमा निर्वाचन व्यवस्थापन, निर्वाचन शिक्षा एवम् मतदाता जागरणलगायत आयोगलाई तोकिएका कार्यसम्पादनमा थप सहजता हुने र जिल्ला निर्वाचन कार्यालयहरुको काम कामकारवाहीमा प्रभावकारी समन्वय हुने विश्वास छ,’ थपलियाले भने।