काठमाडौं– सरकारले मूल्य र गुणस्तर उल्लेख गरेरमात्र खाने तेल बिक्री गर्न व्यवसायीलाई निर्देशन दिएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाने तेलसहित बोतलको पानी र इनर्जी ड्रिंक्समा पनि मूल्य र गुणस्तर उल्लेख गर्न निर्देशन दिएको हो। त्यसो नगरे कारबाही गरिने चेतावनी पनि विभागले दिएको छ।
भाउ बढेर खाई नसक्नु भो खाने तेल
केही समययता खाने तेलको मूल्य अचाक्ली बढेको छ। त्यसमा पनि नेपालीको भान्सामा बढी प्रयोग हुने भटमास र सूर्यमुखी तेलको मूल्य छोई नसक्नु भएको छ।
चालू आर्थिक वर्षको पहिलो महिना साउनमा प्रतिलिटर १४० देखि १६० रुपैयाँसम्म रहेको खाने तेलको मूल्य अहिले २२० देखि २३५ रुपैयाँसम्म पुगेको छ।
भटमासको तेलको खुद्रा मूल्य प्रतिलिटर २२० रुपैयाँ छ भने सूर्यमुखी तेलको खुद्रा मूल्य प्रतिलिटर २३५ रुपैयाँसम्म पुगेको छ। मंसिर अन्तिम सातासम्म भटमास तेलको खुद्रा मूल्य प्रतिलिटर १५० रुपैयाँ र सूर्यमुखी तेलको १५५ रुपैयाँ थियो।
केही महिनायता भटमास र सूर्यमुखी तेलको माग विदेशमा बढेपछि त्यसको मार आन्तरिक उपभोक्तालाई परेको जानकारहरु बताउँछन्। बजारमा माग बढेपछि उद्योगीले मूल्य बढाएका छन्।