काठमाडौं- काठमाडौंको ज्याठामा रहेको मेगा बैंकको एटीएम बुथभित्र पसेर मेसिन ह्याक गर्ने एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौं र दरबारमार्गको प्रहरी टोलीले मंगलबार ती चिनियाँ नागरिकलाई बैंकको एटीएम बुथबाट अनधिकृत रुपमा रकम झिक्दै गर्दा पक्राउ गरेको हो।
प्रहरीका अनुसार ती चिनियाँ ज्याठामै रहेको होटलमा कोठा लिई बस्दै आएका थिए। प्रहरीले उनी बसेको होटलको कोठाबाट १० थान एटीएम, १० वटा विभिन्न चाबीको झुप्पा, ड्रिल मेसिन, काँटीलगायतका सामग्री बरामद गरेको थियो।
यसअघि एटीएम ह्याक गरी रकम निकालिएको अभियोगमा २०७६ भदै १५ गते प्रहरीले ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरी मुद्दा दर्ता गरेको थियो। हाल ती पाँच जना चिनियाँ नागरिकविरुद्ध उच्च अदालत पाटनमा मुद्दा रहेको छ।
त्यस्तै एक वर्षअघि पनि काठमाडौबाट साइबर अपराधमा संलग्न १२२ जना चिनियाँ नागरिक पक्राउ गरी सरकारले जरिवाना लगाएर उनीहरुकै देश पठाएको थियो।