काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरजिम्मेवार, असत्य र बनावटी अभिव्यक्ति दिएको बताएका छन्।
प्रतिनिधिसभाको आज बुधबारको बैठकको शून्य समयमा उनले प्रधानमन्त्रीले आफूमाथि सुरक्षा खतरा छ भनेर झुटो बोलेको बताएका हुन्।
सांसद बडुले भने, ‘प्रधानमन्त्रीले केही दिनअघि आफूमाथि गम्भीर सुरक्षा खतरा रहेको र कुनै पनि बेला आफूमाथि भौतिक आक्रमण हुन सक्ने सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो। यथार्थ के हो ? उहाँको सुरक्षामा गृह मन्त्रालयले के गरिरहेको छ ? थप सुरक्षा दिइएको छ कि छैन ?’
संसद् चलिरहँदा आजसम्म पनि प्रधानमन्त्री संसद् बैठकमा नदेखिनुले शंका उब्जाएको सांसद बडुको भनाइ थियो।
उनले भने, ‘प्रधानमन्त्री संसद् बैठकमा नदेखिनुको कारण सुरक्षा खतरा नै हो ? अथवा नैतिक खतरा महसुस गरेर नआउनुभएको हो ? होइन भने प्रधानमन्त्रीजस्तो व्यक्तिले आफ्नै देशको सुरक्षा व्यवस्था र सुरक्षा क्षमतामाथि प्रश्न उठ्ने गरी गैरजिम्मेवार, असत्य र बनावटी अभिव्यक्ति किन दिनुभयो ? यसबारे स्वयं प्रधानमन्त्री, गृहमन्त्री वा सरकारको प्रवक्ताले संसदमा स्पष्ट पार्नुपर्छ।’