काठमाडौं– विश्व बैंकले नेपालको चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ।
बुधबार बैंकको प्रधान कार्यालयले जारी गरेको साउथ एसिया फोकस अपडेटमा चालू आवको वृद्धिदर २.७ प्रतिशत र आगामी आवको वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण गरिएको छ।
अघिल्लो साउथ एसिया फोकस अपडेटमा विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर सन् २०२१ मा ३.९ प्रतिशत र २०२२ मा ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको थियो।
कोभिड–१९ का कारण नेपालको अर्थतन्त्र सन् २०२० मा इतिहासकै कमजोर भएको विश्व बैंकले जनाएको छ। कोभिडका कारण दशौ लाख मानिसले रोजगारी गुमाएको र उनीहहरु रोजगारीका लागि संघर्षरत रहेको उसले बताएको छ।
आय असमानता अझै बढेको र मानव पुँजीमा पनि ठूलो घाटा व्यहोर्नुपरेको विश्व बैंकले बताएको छ। तर पनि दक्षिण एसियामा भने आर्थिक वृद्धिदर बाउन्स ब्याक (पुनरुत्थान) हुँदै गएको बताइएको छ। सन् २०२१ मा समग्र दक्षिण एसियाको आर्थिक वृद्धिदर ७.२ प्रतिशत र सन् २०२२ मा ४.४ प्रतिशत रहने प्रक्षेपण पनि बैंकले गरेको छ।
विद्युत् खपतमा भएको वृद्धिका कारण दक्षिण एसियाको आर्थिक वृद्धि पुनरुत्थान हुँदै गएको विश्व बैंकको दाबी छ। दक्षिण एसियाकै ठूलो भारतीय अर्थतन्त्रको वृद्धिदर सन् २०२१–२२ मा १० प्रतिशतले बढ्ने अनुमान विश्व बैंकले गरेको छ।
तर सन् २०२१ को जनवरीदेखि हालसम्ममा भने भारतको आर्थिक वृद्धि ४.७ प्रतिशत छ। २०२१ मा पाकिस्तानको आर्थिक वृद्धि १.३ प्रतिशत र बंगलादेशको ३.६ प्रतिशत रहने प्रक्षेपण विश्व बैंकले गरेको छ।
दक्षिण एसियाली मुलुकमा आर्थिक वृद्धिदरको प्रक्षेपण
देश सन् २०२१ (प्रतिशत) सन् २०२२ (प्रतिशत)
नेपाल ३.९ ५.१
भारत ५.८ ६.५
पाकिस्तान २ ३.४
बंगलादेश ५.१ ६.२
भुटान २.९ ४.५
श्रीलंका ०३.४ २
माल्दिभ्स १७.१ ११.५
अफगानिस्तान १ २.६