जनकपुरधाम - महोत्तरीमा घाँस काट्न गएका सातजना बालिका तथा किशोरीहरू सम्पर्कविहीन भएका छन्।
महोत्तरीको भंगहा नगरपालिका–८, धर्मपुर टोलका उनीहरू मंगलबारबाट सम्पर्कविहीन भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।
सम्पर्कविहीन हुनेहरूमा अर्चना पासवान (११), सीमा पासवान (१२), रंजना पासवान (१२), ज्योति पासवान (१३), रिया पासवान (१३), नगिना पासवान (१७) र अस्मिता पासवान (२०) रहेकी छन्।
मंगलबार दिउँसो अपरान्ह ४ बजे घाँस काट्न निस्केका उनीहरू अहिलेसम्म सम्पर्कविहीन रहेको प्रहरीको भनाइ छ।
प्रहरी उपरीक्षक आचार्यले उनीहरूको खोजतलास भइरहेको जानकारी दिए।
भंगहा नगरपालिकाका नगर प्रमुख संजीवकुमार साहले सम्पर्कविहीन हुने सबै एउटै टोलको रहेको बताए।
घाँस काट्न गएकी किशोरीहरू घर नफर्केपछि गाउँमा रुवावासी सुरु भएको छ।