काठमाडौं - रिंगटा लाग्नुको अर्थ टाउको घुम्नु मात्रै हुँदैन। रिंगटा लाग्नुका विभिन्न कारण हुन्छन् र विभिन्न लक्षण पनि।
रिंगटा लाग्दा धेरै मानिस एउटै ठाउमा उभिन सक्दैनन्। केही मानिस बेहोस नै हुनसक्छन्। शरीरमा कमजोरी महशुस हुने भएकाले कति मानिसले बान्तासमेत गर्छन्।
नियमित रिंगटा लाग्ने समस्या भयो भने यसले विकराल रुप लिने जोखिम हुन्छ। र, नियमित रिंगटा लाग्नु कुनै ठूलो रोग लागेको लक्षण पनि हुनसक्छ।
रक्तचाप कम हुनु पनि अचालन रिंगटा लाग्नुको कारण हुनसक्छ। हाम्रो शरीरमा रक्तचाप कम हुँदा मस्तिष्कसम्म प्रयाप्त प्राणवायु पुग्दैन। जसले दिमाग सक्रिय हुनसक्दैन। र, हाम्रो आँखामा अध्यारोपना आउँछ। यस्तो अवस्थामा एकै ठाउँमा उभिन नसक्ने, थकान लाग्ने, रिंगटा लाग्ने जस्ता समस्या देखिन्छन्।
गर्मीमा धेरै मानिसमा रिंगटा लाग्ने समस्या हुन्छ। शरीरमा पानीको कमी भयो भने यस्तो समस्या देखिन्छ। यसको सीधा असर हाम्रो शरीरको क्षमतामा पर्छ।
शरीरमा पानी कम हुँदा इनर्जी लस हुन्छ। जसले गर्दा बान्ता आउने, रिंगटा लाग्ने हुनसक्छ।
तनावमा दिमागमा अतिरिक्त भारपर्छ। यसले मानसिक रुपमा मानिसलाई प्रभावित गर्छ। त्यसपछि यसको असर शारीरिक रूपमा देखिन थाल्छ। यस्तो अवस्थामा धेरै चिन्ता गर्दा मानिसलाई रिंगटा लाग्नसक्छ।
यस्तै कुनै मानिसमा माइग्रेनको समस्या भए पनि रिंगटा लाग्ने हुन्छ। माइग्रेनको सुरुवाति लक्षण भनेकै रिंगटा लाग्नु हो।
माइग्रेन हुने मानिसमा टाउको दुख्ने हुन्छ। रिंगटा पनि फरक-फरक प्रकारको हुन्छ। माइग्रेन हुँदा टाउको दुख्ने तथा बेहोस हुने जोखिम हुन्छ।
कुनै मानिसमा रोग प्रतिरोधात्मक क्षमताको कमी भए पनि रिंगटा लाग्छ। यसको कारण त्यस्ता मानिसमा कुनै रोग हुनसक्ने जोखिम हुन्छ। त्यसैले रिंगटा लाग्ने समस्यालाई साधारण रुपमा लिनु हुँदैन।