कैलाली– अध्यक्षको निधन भएपछि कैलालीको मोहन्याल गाउँपालिकाले पाँच दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गाउँपालिका अध्यक्ष नवलसिंह रावलको निधन भएका कारण बिदा दिने निर्णय भएको वडा नम्बर २ का अध्यक्ष देवीदत्त उपाध्यायले बताए।
आज मंगलबार बसेको गाउँ कार्यपालिकाको आकस्मिक बैठकले अध्यक्षको निधनप्रति शोक व्यक्त गर्दै चैत १८ गतेदेखि २२ गतेसम्म गाउँपालिकाका सरकारी तथा गैरसरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको उनले जानकारी दिए।
बैठकलले १० दिनसम्म सम्पूर्ण सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने समेत निर्णय गरेको छ। अध्यक्ष रावलको उपचारमा लागेको खर्च र अन्त्येष्टिमा लाग्ने खर्चसमेत गाउँपालिकाले व्यहोर्ने भएको छ।
७७ वर्षीय अध्यक्ष रावलको आज बिहान काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।
लामो समयदेखि उच्च रक्तचापले ग्रसित रावललाई चार दिनअघि ब्रेन हेमब्रेज भएको थियो । उनलाई कोहलपुर मेडिकल कलेज हुँदै थप उपचारका लागि काठमाडौं लगिएको थियो । रावल नेकपा एमालेबाट निर्वाचित भएका थिए ।