विराटनगर– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जनअपेक्षा अनुसार अघि बढ्न सबै एक हुन आवश्यक रहेकोमा जोड दिएका छन्। आफूहरु राजनीतिक यात्रालाई फराकिलो बनाएर अघि बढ्न तयार रहेको भन्दै उहाँले सहकार्यका लागि अन्य राजनैतिक शक्ति र सबै पक्षलाई आह्वान पनि गरे।
मंगलबार विराटनगर ५ मा निर्माण गरिएको नेपाल पत्रकार महासंघ प्रदेश १ को कार्यालय भवनको उद्घाटन एवं ‘मेरो पत्रकारिता’ पुस्तक विमोचन समारोहमा बोल्दै मुख्यमन्त्री राईले आफूहरु निरन्तर रुपमा प्रदेशको समृद्धि र विकासतर्फ केन्द्रीत भइरहेको जानकारी दिँदै साझा आकांक्षा प्राप्तिका लागि सबैले हातेमालो गर्नुपर्ने बताए। मुख्यमन्त्री राईले विकास, निर्माण र समृद्धिका पक्षमा सञ्चारकर्मीले कलम चलाउनुपर्नेमा जोड दिए।
आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले पत्रकारिकता पेसालाई थप मर्यादित र व्यवस्थित बनाउन आवश्यक रहेको बताए।
कार्यक्रममा प्रदेश १ का ३४ जना अग्रज पत्रकारको अनुभव र चिनारीलाई समेटेर प्रकासन गरिएको ‘मेरो पत्रकारिता’ नामक पुस्तकको पनि विमोचन गरिएको छ। महासंघका प्रदेश १ अध्यक्ष विक्रम लुइँटेलले नेपाली पत्रकारितामा प्रदेशभित्र रहेर अग्रज पत्रकारले पु¥याएको योगदानलाई पुस्तकमा समेटिएको बताए। अग्रज पत्रकारहरुले मुलुकको परिवर्तन तथा पत्रकारिताको विकासका लागि निर्वाह गरेको भूमिकालाई जीवन्त राख्न पुस्तकले सहयोग गर्ने लुइँटेलले बताए।
महासंघका प्रदेश महासचिव विवेक गौतमले प्रदेश सरकारको ७६ लाख रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको बताए।