काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अदालत मजाक गर्ने ठाउँ नरहेको बताएका छन्।
राजधानीमा मंगलबार आयोजित रिपोर्टर्स क्बलको वार्षिकोत्सवमा सम्बोधन गर्दै उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै भने, ‘अदालत मजाक गर्ने ठाउँ हो र?’
नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने अदालतको निर्णयमा दाहालले मंगलबार नै सर्वाेच्चमा पुगेर पुनरावेदन दर्ता गराएका छन्।
पुनरावेदन दर्ताप्रति संकेत गर्दै ओलीले अदालत आफ्नै विधिअनुसार चल्ने बताएका हुन्। अदालतले दर्ता खोरज गरिदिएर पार्टी आआफ्नो भइसकेको उनको भनाइ छ।
उनले अदालतले दुवैको माग पूरा गर्न नसक्ने बताए। उनले भने, ' अदालतले ऋषि कट्टेललाई मागेको दियो। दाहाललाई दिएन।’
दाहालमा अझै पनि मिचेर हिँड्न बानी कायमै रहेको बताए। उनले भने, ‘तपाईंका हतियार र लडाकुसँग डराउने दिन गए।’ उनले अब दाहालसँग सेना र हतियार दुवै नरेहको बताए। ओली उमेर सम्झेर छेलाे फ्याँक्न खाेज्दा ढाड सड्किन सक्ने भन्दै दाहाललाई सचेत गराए।
ओलीले ११ फागुनमा अदालतले आफ्नो सिफारिस बदर गर्दा आफू कुनै उत्तजेनामा नआएको स्पष्ट पारे।
उनले भने, ‘हामीले लोकतन्त्रमा अदालतको आदेश कार्यान्वयन गर्ने हो। त्यस बेला दंग परेर अदालतकै जयजय गरेर अबिर जात्रा गरियो। के के खाइयो नाम नलिऔं।’
उनले १२ दिनपछि अर्को फैसला आउँदा पुष्पकमल दाहालका लागि अदालत कामै नलाग्ने भएको बताए।
उनले पार्टी ब्युँतिएपछि एकीकरणका लागि नयाँ दल दर्ताका लागि प्रस्ताव गर्दा दाहालले नमानेको बताए।
उनले भने, ‘मैले दाहाललाई फोन गरेँ, हामीलाई १५ दिनको नाम दिएको छ। एउटै पार्टी नाम लिएर निर्वाचन आयोगमा जाऔं। केन्द्रीय कमिटीको बैठक छ। सकेपछि भेटेर कुरा गरौंला भन्नुभयो। तर मिडियामा ओलीले मलाई भेट्न चाहेका थिए। तर मैले भेट्न चाहिनँ भन्नुभयो।’
त्यसपछि आआफ्नो पार्टी चलाए भैगो नि भनेर म पनि आफ्नै तरिकाले अघि बढेको ओलीको भनाइ छ। उनले भने, ‘फोन सम्पर्क गर्दा नआउने अनि अदालतले हामीलाई फुटाइदियो भन्ने?’
दाहालले सूर्य चिह्न मेरो हो भन्दा आफू अचम्ममा परेको ओलीको भनाइ छ।
उनले आफूमाथि एकता भंग गरेको आरोपप्रति आक्रोश व्यक्त गर्दै भने, एकता बाँकी थियो र भंग गर्न? अध्यक्षबाट म निकालिएको थिएँ। संसदीय दलको नेतबाट निकालिएको थिएँ।’
आफूले राम्रा काम गरिरहेको सहन नसकेर केही व्यक्तिले पदबाट हटाउन खोजेको भन्दै उनले नागरिक समाजका अगुवाप्रति आक्रोश व्यक्त गरे। उनले भने, ‘डबलीमा बोल्ने मोडरेटरहरु तथाकथित हुन्। प्रजातन्त्रका लागि कति योगदान गरेका छन् उनीहरूले?’
उनले एकाध मानिसलाई प्रधानमन्त्री तीव्र इच्छा भयो भन्दैमा आफूले पद नछाड्ने बताए। ओलीले सत्ता स्वार्थमा लागेका व्यक्तिका कारण देशमा संकट उत्पन्न भएको बताए।
ओलीले प्रदेशमा विनियोजन गरिएको बजेटमा कुनै भेदभाव नगरिएको बताए। ओलीले साउन १ गतेबाट लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइने पनि बताए।