कृषकलाई बाँदर आतंकबाट मुक्त गराउन जंगलमा फलफूलको बिरुवा रोप्ने कार्यक्रम अगाडि बढाइएकाे छ।
तनहुँ - तनहुँको म्याग्दे गाउँपालिका–२ का श्यामलाल श्रेष्ठ बाँदर आतंकले हैरान छन्।
बाँदरले खेतबारीमा आएर बाली खाइदिने गरेपछि उनी मात्र होइन, उमाचोकका अधिकांश कृषक पीडित छन्।
खेतबारीमा आएर बाली खाइदिनुका साथै घरमै आएर पनि अन्नबाली नष्ट गर्ने क्रम बढ्दै गएको श्रेष्ठको गुनासो छ।
‘खेतमा काम गर्न गएको बेलामा बाँदरले आक्रमण पनि गर्ने गरेको छ, बाँदर आतंकबाट हैरानै भइयो,’ श्रेष्ठले भने, ‘बाँदर आतंकबाट छुटकारा चाहिएको छ।’
यहाँका कृषकलाई बाँदर आतंकबाट मुक्त गराउन डिभिजन वन कार्यालय तनहुँले जंगलमा फलफूलको बिरुवा रोप्ने कार्यक्रम अगाडि सारेको छ।
‘बाँदर आतंक न्यूनीकरण गर्न सबडिभिजन वन कार्यालय म्याग्देको सिफारिसबमोजिम उमाचोक सामुदायिक वनमा फलफूलका बिरुवा रोप्ने तयारी गरेका छौं’, वन समूहका अध्यक्षसमेत रहेका श्रेष्ठले भने, ‘वनमै फलफूल भएपछि बाँदर त्यतै भुलेर वस्तीतिर आउँदैन कि भन्ने लागेको छ।’
सबडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले तनहुँमै पहिलोपटक उमाचोकमा बाँदर भुलाउन जंगलमा फलफूलको बिरुवा रोपण गर्न लागिएको जानकारी दिए।
यस कार्यक्रमका लागि डिभिजन वन कार्यालय तनहुँले सात लाख ५० हजार सहयोग गरेको छ भने २० प्रतिशत सामुदायिक वनले लागत साझेदारी गर्ने छ।
सामुदायिक वनको तीन हेक्टर क्षेत्रफलमा करिब ८४० वटा विभिन्न प्रजातिका वनजन्य फलफूलको बिरुवा रोपिने छ।
‘बुट्यान जंगलमा बाँदरले मन पराउने बर्सेनि उत्पादन हुने खालका बिरुवा लगाइने छ, त्यसका लागि जग्गा मिलाउने, तारबार गर्ने काम भइरहेको छ,’ उनले भने।
उनका अनुसार यहाँ काफल, चिउरी, जामुन, अमला, लोकल आँपहरू, कटहर, चिलीलगायतका बिरुवा उत्पादन गरिने छ।
दुई÷तीन वर्षमा फलफूल उत्पादन हुने भएपछि बाँदर जंगलमै भुल्ने र वस्तीसम्म नजाने विश्वास गरिएको छ।
म्याग्देमा बाँदरले दुःख दिन थालेपछि गत वर्ष गाउँपालिकाले कृषकलाई बाँदर भगाउने उपकरण प्रदान गरेको थियो। तर, उक्त उपकरण प्रभावकारी नभएको कृषकको भनाइ छ।
म्याग्दे गाउँपालिका–१ का कृषक एककुमार श्रेष्ठले बाँदरले बारीमा पसेर सबै बाली नष्ट गरिदिने गरेको गुनासो गरे।
म्याग्दे गाउँपालिका–२ का कृषक बुद्धिबहादुर मगरले बाँदरले दुःख दिएपछि दिनभर बारी कुरेर बस्नुपर्ने बाध्यता रहेको बताए। रासस