मुस्ताङ – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा सीधा यातायात सेवा बन्द हुने समय दुई दिन थपिएको छ।
विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सोमबार बसेको बैठकले चैत १९ गतेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो।
यसअघि चैत १४ देखि १७ गतेसम्मलाई बेनी–जोमसोम सडकमा सीधा यातायात बन्द गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलको अध्यक्षतामा बसेको बैठकले तीव्ररूपमा भइरहेको सडक विस्तारको कामलाई पूर्णता दिन दुई दिन समय थप गर्ने निर्णय गरेको बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोमका प्रशासन शाखा प्रमुख नारायण पौडेलले जानकारी दिए।
प्रजिअ पौडेलसहित सुरक्षा र आयोजनाका अधिकारीले सडक निर्माणस्थलको स्थलगत निरीक्षण गरेपछि समय थप गर्नुपर्ने निष्कर्ष निकालेका हुन्।
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिर र कैकुखोला क्षेत्रमा सवारी आवतजावत बन्द गरिएको छ।
सडक स्तरोन्नति, बेस बगाउने तथा पहिराका कारण सवारीसाधन चल्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले सम्भावित जोखिम र दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नुपरेको आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले बताए।
सडक बन्द हुने स्थानबाहेकका ठाउँमा भने सवारी चलेका छन्। यातायात व्यवसायीले सवारीसाधन परिवर्तन गरेर गन्तव्यमा पुग्ने व्यवस्था मिलाएका छन्।
म्याग्दी र मुस्ताङ खण्डको आन्तरिक यातायात सेवामा भने असर नपर्ने बताइएको छ। बेनी–जोमसोम ७६ किमी सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ। रासस