काठमाडौं– एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई छ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन्।
ओलीले सोमबार दुवै नेतालाई भिन्नाभिन्नै पत्र पठाई पार्टीबाट निलम्बन गरेका हुन्। यसअघि सोधेको स्पष्टीकरण चित्त नबुझेको भन्दै उनीहरुलाई निलम्बन गरिएकाे पत्रमा उल्लेख छ।
गुटबन्दीका क्रियाकलाप जारी राखे अझ कडा कारबाही गर्ने चेतावनी ओलीले दिएका छन्।
ओलीले पत्रमा सच्चिनका लागि यो अन्तिम मौका दिइएको पनि स्पष्ट पारेका छन्।
पत्रमा उल्लेख छ, ‘आफ्ना विचार र क्रियाकलाप सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधि बीचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र सच्चिन दिइएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरु कायमै राखेमा निलम्बनको बीच अवधिमै थप कारबाही गर्न सकिने व्यहोरासमेत जानकारी गराइन्छ।’
ओलीका पाँच आरोप
१. तपाईले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सदभावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरुसँग निरन्तर बैठक भेटघाट गर्ने र उनीहरुको पक्षपोषण गर्ने कार्य निरन्तर गरिरहनु भई उक्त कार्यलाई निरन्तरता दिने स्विकारोक्तिसहित अहंकार र आत्म केन्द्रित कुराहरु उन्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो।
२. स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो भूलत्रुटिको स्विकारोक्ति नगरेको, कुनै आत्मसमीक्षा नगिरएको, आत्मालोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको, अहंकार आत्मकेन्द्रित र स्वार्थी प्रवृत्ति प्रस्ट देखियो। आफ्नो स्वार्थका लागि देश जनता र पार्टीको हितलाई जस्तोसुकै क्षति पुर्याउन तयार भएको आपराधिक मनोवृत्ति प्रस्ट रुपमा थप पुष्टि भएको।
३. आपराधिक कृयाकलापहरु स्विकार्ने, भूल सुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतिका लागि पार्टीमा समाहित हुने साथै विगतमा भए गरिएका गलत तथा आपराधिक कियाकलापप्रति प्रायश्चित्त गर्ने अवसरलाई त्यसै गम्भीरताका साथ लिनुको साटो तपाईंले उल्टै स्पष्टीकरण सोध्ने जस्तो अनधिकृत र हास्यास्पद कार्य गरेको देखियो।
४. तपाईंले अहिले पनि पार्टी विरोधी फाटोवादी र गुटगत कियाकलाप नेकपा एमालेकै नाममा गरिरहेको र त्यसलाई आगामी दिनमा समेत निरन्तरता दिई रहने तर्फ अग्रसरता देखिएको, पार्टीकै एकताकै लागि भन्दै भ्रम फिजाएर कार्यकर्ता फसाउने र आफ्ना गलत उद्देश्य तथा मनासायका निम्ति दुरुपयोग गर्ने सम्भावना देखिएको।
५. यस्तै गतिविधिहरु कायम रहेमा तपाईंलाई जुनसुकै बेला पनि थप कडा कारबाही गर्नुपर्ने अवस्था आउन सक्ने तर्फ सचेत गराउदै, यस्ता पार्टी विरोधि गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन एकै पटक कडा कारबाही गर्नु भन्दा हाललाई पार्टीको दसौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरु तथा पार्टी सदस्यताबाटै पार्टीको विधान २०४९ (संशोधन २०७१ समेत) को धारा ४९ (ख) बमोजिम छ महिनाका लागि निलम्बन गरिएको छ।