काठमाडौं– सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीशहरुका लागि नयाँ गाडी उपलब्ध गराएको छ।
मन्त्रिपरिषद्को नीतिगत निर्णयअनुसार खरिद गरिएका १४ वटा गाडी उनीहरुलाई उपलब्ध गराउन लागिएको सर्वोच्चका सह प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।
पूर्वप्रधानन्यायाधीशहरुको सेवासुविधामा एकरूपता ल्याउन सरकारले एकै खालका गाडी किन्ने निर्णय गरेको थियोे।
सहप्रवक्ता ढकालले अहिलेसम्म ५ जना पूर्व प्रधानन्यायाधीशले गाडी लिइसकेको र बाँकीले लैजाने क्रममा रहेको बताए। उनीहरुसँग भएका यसअघिका गाडी फिर्ता लगेर नयाँ उपलब्ध गराइएको हो। यसअघि पूर्व प्रधानन्यायाधीशले महँगो तथा सुविधासम्पन्न गाडी अवकाश पाएपछि आफूसँगै लैजाने गरेका थिए।
पूर्व प्रधानन्यायाधीशहरूसँग भएका गाडी जस्तो अवस्थामा छन् ती फिर्ता ल्याएर नयाँ दिने निर्णय भएको थियो।
पूर्वप्रन्याहरुका लागि हुन्डाईको एसयूभी क्रेटा खरिद गरिएको छ। यो गाडीको बजार मूल्य साढे ४७ देखि ७५ लाख रुपैयाँसम्म पर्छ।